प्रचण्ड-नेपाल नेतृत्वको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले नेकपा (मसाल) का महामन्त्री मोहविक्रम सिंहको आयु १२० वर्ष होस् भन्ने कामना गरेका छन्।
महोत्तरीको बर्दिबासमा रहेको आधारशिलाको १८ औँ वार्षिकोत्सव कार्यक्रममा ८६ वर्षीय नेता सिंहलाई सम्मान गर्दै श्रेष्ठले सिंह कम्युनिष्ठ आन्दोलनको धरोहर भएको बताए।
कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले नेता सिंह र पहिलो पुस्ताका कम्युनिष्ट नेता कृष्णराज वर्मालाई प्रशंसापत्रसहित दोसल्ला ओडाएर सम्मान गरेका छन्।
महोत्तरीको बर्दिबास नगरपालिका-३ गौरीडाँडामा अवस्थित आधारशिलामा नेकपाका पूर्णकालिन नेता कार्यकर्तासहित १५ परिवारका ४३ जनाको सामूहिक बसोबास छ। आधारशिला कम्युन उन्मुख सामूहिक संस्था हो।
निवर्तमान शिक्षामन्त्री समेत रहेका नेकपाका स्थायी समिति सदस्य गिरीराजमणि पोखरेलको अभिभावकत्वमा सञ्चालित आधारशिलाले वैचारिक राजनीतिसँगै शिक्षा, स्वास्थ्य, सञ्चार लगायतका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको छ।
कार्यक्रममा नेता सिंहलाई सम्मान गर्दै श्रेष्ठले एउटै पार्टीमा रहेर नेता मोहनविक्रम सिंहसँग काम गर्दाका अनुभवसमेत सुनाएका थिए।
‘नेकपा (एकताकेन्द्र-मसाल)मा उहाँ महामन्त्री र म सहमहामन्त्री थियौँ। त्यतिबेलादेखि नै मैले उहाँका केही अनुकरणीय विशेषताहरु छन् भन्ने थाहा पाएँ,’ श्रेष्ठले सिंहको प्रशंसा गर्दै भने, ‘क्रान्तिप्रतिको आशा, सिद्धान्त निष्ठता, निरन्तरता र लोभलाग्दो सक्रियता उहाँका अनुकरणीय पक्ष हुन्।’
आधारशिलाका अध्यक्ष दीपबहादुर योञ्जनको अध्यक्षतामा भएको कार्यक्रममा नेताहरु मोहविक्रम सिंह, कृष्णराज वर्मा, साहित्यकार हरिगोविन्द लुइँटेल, आधारशिला परिवारकी आमा पुष्पलता घिमिरे लगायतले मन्तव्य व्यक्त गरेका थिए। आधारशिलाद्वारा सञ्चालिन पुस्तकालय र वेवसाइटको समेत आजै उद्घाटन गरिएको छ।
Shares

प्रतिक्रिया