ad ad

राजनीति


सरकारनिकट मेडिकल माफियाले चिकित्सा शिक्षा आयोगमा हमला गरिरहेका छन् : डा. केसी

सरकारनिकट मेडिकल माफियाले चिकित्सा शिक्षा आयोगमा हमला गरिरहेका छन् : डा. केसी

नेपालखबर
फागुन ३, २०७७ सोमबार ४:५१,

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगलाई असफल पार्न सरकारले नै गुन्डा परिचालन गरेको आरोप लगाएका छन्।

सोमबार बिहान विज्ञप्ति जारी गरी डा. केसीले आयोगका पदाधिकारीविरुद्ध हालै भएको गुन्डागगर्दीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्।

पढ्नुहोस्, प्रेस विज्ञप्ति
चिकित्सा शिक्षा आयोग र यसका पदाधिकारीमाथि हालै भएको गुण्डागर्दी तथा आयोगलाई असफल बनाउन चलाइएको कुटिल षड्यन्त्रप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

पछिल्लो समय सत्ता नजिककमा मेडिकल माफियाहरूले आपराधिक व्यक्तिहरूलाई प्रयोग गरेर आयोगका पदाधिकारीहरूलाई धम्काउने तथा घरअगाडि बम राख्नेसम्मका कुकर्म गरेका छन्।

स्वास्थ्य मन्त्रालयले चिकित्सा शिक्षा आयोगको स्थापनाकालदेखि नै आयोगका काममा अनावश्यक भाँजो हाल्ने र हस्तक्षेप गर्ने काम गरिआएको छ। पछिल्लो समय त्यस्तो नाजायज दबाब बढाएर आयोगका पदाधिकारीलाई कामै गर्न कठिन हुने अवस्था सिर्जना गरेर आयोगलाई असफल बनाउन प्रयास गरेको छ।

यसरी मेडिकल माफियाका आपराधिक स्वार्थ र र स्वास्थ्य मन्त्रालयको अवरोधका कारण आयोगको कार्य सम्पादन प्रभावित भएको छ। आयोग निर्माण भएको धेरै समय नभएका कारण आयोगको कार्य सम्पादन चुनौतीपूर्ण छ र पदाधिकारीहरूबाट कमी कमजोरीहरू भएका हुन सक्छन्। खासगरी सबै विद्यार्थीहरूलाई न्याय हुने गरी निर्णयहरू गर्ने र तिनलाई कार्यान्वयन गर्ने चुनौती आयोगसामु छ।

दसकौंको बेथितिका कारण भद्रगोल भएको मेडिकल शिक्षामा थिति स्थापित गर्नु अहिले आयोगको पहिलो कर्तव्य हो। त्यसपछि मेडिकल शिक्षाको गुणस्तर उकास्न रचनात्मक कदमहरू चाल्ने अर्को काम त बाँकी नै छ।

तर काम गर्दा भएका कमजोरीहरूबाट सिक्दै र सुधार गर्दै जानुपर्नेमा आयोगको मर्ममै प्रहार गर्नु भनेको हामीले दसक लामो संघर्षबाट हासिल गरेका उपलब्धिहरू उल्ट्याउने प्रपञ्चबाहेक अरू हुन सक्दैन।

त्यसैले आयोगका पदाधिकारीलाई धम्क्याउने तथा हिंसामा उत्रने अपराधीहरूलाई तत्काल कारबाही गर्दै स्वास्थ्य मन्त्रालयले गर्दै आएको आयोगको कार्य सम्पादनमाथिको नाजायज हस्तक्षेप तत्काल बन्द गर्न सरकारको ध्यानाकर्षण गराउँछौं।

-डा. गोविन्द केसी
२०७७ फागुन ३

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .