अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको ठूलो जित भएको छ। उनी महाभियाेगबाट मुक्त भएका हुन्।
बीबीसीका अनुसार अमेरिकाको माथिल्लो सदन सिनेटमा गरिएको मतदानबाट महाभियोग अस्वीकृत भएको हो।
ट्रम्पविरुद्ध पेस महाभियोग प्रस्तावबारे सिनेटमा पाँचौं दिन शनिबार सुनुवाइ पूरा गरी मतदान गरिएको थियो।
त्यस क्रममा महाभियोगका पक्षमा ५७ तथा विपक्षमा ४३ सांसदले मतदान गरेका हुन्। प्रस्ताव परित हुन आवश्यक दुईतिहाइ अर्थात् ६७ मत आवश्यक नपुगेपछि उनी निर्दाेष साबित भएका हुन्।
गत नोभेम्बरमा भएको राष्ट्रपति चुन्ने चुनावमा जो बाइडेनसँग हारेपछि ट्रम्पले धाँधलीको आरोप लगाउँदै अन्तिम समयसम्म बाइडेनको जित अस्वीकार गरिरहेका थिए। मतपरिणाम बदर गर्न अदालतमा हालिएका उनका मुद्दा खारेज भएका थिए।
यसै क्रममा यही जनवरी ६ का दिन अमेरिकाको संसदमा बाइडेनको जित प्रमाणीकरण गर्ने विषयमा सांसदबीच छलफल भइरहेका बेला ट्रम्पका समर्थकले सांघातिक आक्रमण गर्दा एक प्रहरीसहित ५ जनाको मृत्यु भएको थियो। त्यो हिंसा ट्रम्पकै उक्साहटमा भएको भन्दै उनीविरुद्ध महाभियोग प्रस्ताव पेस गरिएको थियो।
अमेरिकाको तल्लो सदनबाट पारित भएपछि प्रस्ताव माथिल्लो सदन सिनेटमा लगिएको थियो। तर त्यहाँबाट पारित हुन नसकेपछि ट्रम्प निर्दाेष साबित भएका हुन्। यो उनीविरुद्धको दोस्रो महाभियोग थियो। यसअघि केही वर्षअघि लगाइएको महाभियोग पनि सिनेटबाट पारित नभएपछि ट्रम्प निर्दाेष प्रमाणित भएका थिए।
सिनेटको निर्णयपछि ट्रम्पको सचिवालयले विज्ञप्ति जारी गर्दै भनेको छ- ‘देशको इतिहासमा कुनै एक व्यक्तिलाई फसाउन गरिएको प्रयासको यो अर्काे चरण हो।’
— Trump War Room (@TrumpWarRoom) February 13, 2021Statement by Donald J. Trump, 45th President of the United States of America: pic.twitter.com/Z3nG6xeN9Z
महाभियोगबाट छुटकारासँगै ट्रम्प अब आगामी सन् २०२४ मा हुने राष्ट्रपतिको चुनावमा उम्मेदवार बन्न योग्य भएका छन्।

प्रतिक्रिया