ad ad

राजनीति


सरकारलाई पार्टी र संसदबाट असहयोग भएको थिएन : पुन

सरकारलाई पार्टी र संसदबाट असहयोग भएको थिएन : पुन

नेपालखबर
फागुन १, २०७७ शनिबार १३:२२,

नेकपा स्थायी समिति सदस्य वर्षमान पुनले केपी ओली नेतृत्वको सरकारलाई नेकपाले तीन वर्षसम्म कुनै असहयोग नगरेको प्रष्ट पारेका छन्।

ओली सरकारमा झण्डै तीन वर्ष ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्रीसमेत रहेका पुनले पार्टीले सहयोग असहयोग नभई सहयोग पु¥याएको दावी गरे।

पार्टीका अध्यक्ष, संसदीय दलका नेता र प्रधानमन्त्री मानेका व्यक्तिले संविधानमाथि घात गरेपछि बाध्य भएर आफूहरुले विरोध गर्नुपरेको उनको भनाइ थियो। तीन वर्षसम्म सरकारले संसदमा पेश गरेका नीति तथा कार्यक्रम र बजेट तथा सरकारका तर्फबाट पेस भएका धेरै विधेयक ससंदले पारित गरेको उनले बताए।

‘तीन वर्षसम्म सबै नीति कार्यक्रम र बजेट पार्टीको समर्थनमा संसदमा उत्साहजनक रुपमा पास भए। त्यहाँ कुनै अवरोध भएन’, धनकुटा सदरमुकाममा संसद विघटनविरुद्ध आयोजित सभालाई शनिबार सम्बोधन गर्दै पुनले भने, ‘पहिलो वर्ष झण्डै १ सय १६ वटा विधेयकहरु संसदमा पेस भए। संविधानसँग सम्बन्धित अति आवश्यक विधेयक थिए, ती सबै फटाफट पास भए। म एउटा मन्त्रीका हैसियतले झण्डै तीन वर्ष काम गर्दा देखेको छु, पार्टीले पूरै सहयोग गरेको छ।’

प्रधानमन्त्री ओली स्वयंले कयौंपटक सार्वजनिक अभिव्यक्तिका क्रममा संसारमै छोटो समयमा धेरै कानून बनाउने मुलुक नेपाल भएको र आफ्नो कार्यकालमा जति छिटो विकास विश्वमै नभएको दाबी गर्दै हिँडेको चर्चा गर्दै नेता पुनले ओलीले अहिले संसद् र पार्टीले काम गर्न दिएन भन्नुको तुक नरहेको बताए।

‘ओलीजीले सार्वजनिक रुपमा इतिहासमै धेरै सडक कालोपत्रे भयो। मेरो सरकार विश्वमै छोटो समयमा धेरै कानून बनाउने सरकारका रुपमा उभियो भनेर सरकारको प्रगति देखाउनुहुन्थ्यो’, पुनले भने, ‘तर, हामीले विश्वास गरेको त्यही प्रधानमन्त्री आज पार्टीले मलाई काम गर्न दिएन, संसदले काम गर्न दिएन र मैले विघटन गरें भनेर सार्वजनिक रुपले भन्दै हुनुहुन्छ, के यो इमानदारिता हो?’

पार्टीले राष्ट्रिय पुँजी निर्माण, रोजगारी सिर्जना, सामाजिक न्यायको स्थापना, पाँच वर्षमा गरिब मुलुकबाट मध्यम आय भएको मुलुकका रुपमा स्तरोन्नति, तीव्र औद्योगीकरणजस्ता चुनावी घोषणापत्रमा जनताबीच गरिएका प्रतिबद्धताअनुसार काम भए/नभएको बारेमा भने पटकपटक घच्घच्याएको पुनले बताए। तर, प्रधानमन्त्री ओलीले पार्टीको नीति, निर्देशनमा जनतासँग गरिएका प्रतिबद्धताअनुसार नभई स्वेच्छाचारी र व्यक्तिवादी ढंगले काम गरेको आरोप उनले लगाए।

पुनले नेपाली जनताले ७० वर्षसम्म लडेर ल्याएको संविधान, जनअधिकार र व्यवस्थामाथि नै ओलीले हमला गरेकाले त्यसलाई बचाउने अभियानमा आफूहरु आन्दोलनमार्फत जनअदालतमा उभिएको बताए। असंवैधानिक रुपमा विघटन गरिएको प्रतिनिधिसभा पुनस्र्थापनाबाहेक अरु कुनै बाटोबाट लोकतन्त्र बहाली र संविधानको रक्षा नहुने उनको स्पष्टोक्ति थियो।

आफूहरुको आन्दोलन केही नेताको पद र कुर्सीका लागि नभई ओलीको निरंकुशता र असंवैधानिक कदमविरुद्ध भएको पुनले स्पष्ट गरे। निर्वाचन घोषणा गरिसकेपछि ७७ वटै जिल्लामा आफ्ना गुटका कार्यकर्ताको भर्ती गर्न भूमि आयोगको गठन र संसदीय सुनुवाईबिनै विभिन्न संवैधानिक निकायमा गरिएको नियुक्तिले ओलीले थप असंवैधानिक कदम चाल्दै जाने स्पष्ट गरेको पुनको भनाइ छ।

नेता पुनले १५ वर्षसम्म एमालेको नेतृत्व गरेका माधव नेपाल र जनयुद्ध, शान्ति प्रक्रिया हुँदै नेकपाको अध्यक्ष बनेका पुष्पकमल दाहाल प्रचण्ड भएको पार्टी नै आधिकारिक नेकपा भएको दाबी गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .