राजनीति


कठैबरा ! भन्नुपर्ने कोही पनि पार्टीबाट बाहिरिएको छैन : ओली

कठैबरा ! भन्नुपर्ने कोही पनि पार्टीबाट बाहिरिएको छैन : ओली

नेपालखबर
फागुन १, २०७७ शनिबार १०:५१,

 प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नयाँ नक्सा जारी गरेपछि आफूविरुद्ध षड्यन्त्र भएको बताएका छन्।

शनिबार बुटवलमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीबाट केही तत्व बाहिरिएसँगै पार्टी गतिशील बनेको बताए।

‘नयाँ नक्सा जारी गरेपछि, संविधानको अनुसूचीमा त्यसलाई समावेश गरेपछि उहाँहरु( प्रचण्ड–नेपाल) आत्तिनु भयो र प्रधानमन्त्री हट्नु पर्‍यो, सरकार परिवर्तन गर्नुपर्‍यो भनेर अरुले भनेको होइन, अरुले हिम्मत गरेको थिएन। आफ्नै पार्टीबाट बिग्रह पैदा गरेको हो’, उनले भने, ‘काम गर्न नदिने, तीन वर्षदेखि संवैधानिक आयोगहरु बन्न सकेनन्, उहाँहरु हट्नुभो आयोगहरु बने। तगारो के रहेछ भन्ने कुरा तपाईंहरुले देख्नुभो।’

उनले एकताको तीन वर्ष पार्टी हलनचल भएको सरकारले राम्ररी काम गर्न नपाएको गुनासो गरे।

‘पार्टी हलनचल भएको थियो तीन वर्ष। असंगठित, गतिहीन र निष्प्रभावी भएको थियो’, उनले भने, ‘अहिले उहाँहरु जानु भो पार्टी गतिशील भएको छ, जनतामा उत्साहा छाएको छ।’

उनले गएका तीन वर्षमा खुट्टा तान्ने, अनेक अवारेध सिर्जना गर्ने गरेका कारण यस प्रकारका आमसभा गर्न नसकेको बताए। उनले पहिलो पार्टीभित्रै बसेर गाली गर्नेहरु अहिले बाहिर गएर गाली गरिरहेको बताए।

उनले गलत तत्व गएपछि पार्टी शुद्धीकरणको ढोका खुलेको र पार्टी अनुशासित, सुदृढ, संगठित र गतिशील ढंगले अगाडि बढेको दावी गरे।

‘तपाईं हामी निरास हुनुपर्ने आवश्यकता छैन। केही मानिसहरु बाहिर गएका हुन, कस्ता मानिस गए भने कठैबरा! भन्नुपर्ने त्यति गएनन्’, उनले भने, ‘कठैबरा भन्नुपर्ने भन्दा पार्टीमा बसेर समस्या खडा गर्ने, पार्टीको बदनाम गर्ने, अनुशासन र आचरणहीन पार्टी रहेछ भन्ने पार्ने, गुटगत मानसिकता भएका बाहिरिएका छन्।’

प्रधानमन्त्री ओलीले उनीहरुले सरकारले गरेका राम्रा कामको कहिल्यै प्रशंसा नगरेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad