प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि रामको जन्म मिति र जन्म भूमि प्रमाणित गर्ने विषयलाई लिएर प्रश्न उठाएका छन्।
शनिबार बुटवलको उत्तरी चुरेदेखी पाल्पाको वसन्तपुर डाँडासम्म केबलकार शनिबार शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रामको जन्म स्थान प्रमाणित गर्न सुडा–सुडेनी खोज्न कहाँ जाऊँ त भनेर प्रश्न उठाएका हुन्।
प्रधानमन्त्री ओलीले चितवनमा आफूले अयोध्यापुरीमा रामसीताको मन्दिर बनाउन लाग्दा सोही क्षेत्रका जनप्रतिनिधि रहेका प्रचण्डले कुनै चासो नदिएको आरोप लगाएका थिए। त्यसको जवाफमा प्रचण्डले सरकार र प्रधानमन्त्री ओलीले तथ्य प्रमाणित गर्न भन्दा पनि राजनीतिक स्टन्टका लागि अयोध्यापुरीको कुरा उठाएको बताएका थिए। प्रचण्डको सोही भनाइतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
‘अस्ति एक जना मान्छेले भाषण गर्दा भन्नु भो– केपी ओलीले राम जन्मभूमिमा राम र सीताको मन्दिर बनाउने र प्रतिमा स्थापना गर्ने भन्ने सुन्दैछु तर त्यो भन्दा अगाडि प्रमाणित गर्नुपर्यो नि राम त्यहीँ जन्मिएका थिए भनेर’, उनले भने, ‘अब म त्यसबेलाका सुडा–सुडेनी खोजेर ल्याऊँ कि के खोजेर ल्याऊँ, राम जन्माउँदा कौशल्याका छेउमा मै थिए भन्ने को फेला पर्ला?’
उनले नेपालमा मात्रै नभइ राम जन्मेको भूमि संसारभर काहीँ पनि प्रमाणित नरहेको बताए।
‘संसारमा अन्य कुनै भूमि राम जन्मभूमि भनेर प्रमाणित भएको छैन, फैजावादमा डेढ सय वर्ष अगाडिसम्म अयोध्या नामै थिएन’, उनले भने, ‘अनि अयोध्यापुरी जहाँ राम जन्मिएका थिए, प्रमाण चाहियो रे फेरि।’
उनले कतिपय कुराहरु श्रृति, परम्पार, व्यवाहार र दर्शनका आधारमा पुष्टि हुने बताए। उनले यो धेरै पुरानो भएका कारण मेसोपोटामियाको जस्तो यहाँ माटोको हाँडी खोजेर नभेटिने बताए।

प्रतिक्रिया