लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनयुद्ध नभई त्यसका सुप्रिम कमान्डर पुष्पकमल दाहाल प्रचण्ड कुहेको बताएका छन्।
शनिबार बुटवलमा जनयुद्धका कमण्डरहरुलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धका कमान्डर कुहेको भन्दै जनयुद्ध कुहेको भनेर भ्रम फैलाउने काम भएको बताए।
‘सम्माननीय प्रधानमन्त्रीले तपाईंहरुले जनयुद्धको नेतृत्व गर्दा बनाएको सुप्रिम कमान्डर फर्सीजस्तै कुहियो भन्दा जनयुद्ध फर्सीजस्तै कुहियो भनेर भन्दा खेरी जनयुद्ध कुहियो भनेर तपाईंहरुलाई भ्रमित गर्ने काम भएको छ’, उनले भने, ‘कमान्डर कुहेको हो। सुप्रिम कमान्डर प्रचण्ड कुहिनुभयो। उहाँले बलिदान र परिवर्तनको मूल्य र राष्ट्रको अस्मितालाई बुझ्न सक्नुभएन। आफ्नो स्वार्थकमा लागि बलिदानलाई प्रयोग गर्नु भयो।’
उनले पूर्व जनसेनाको अपमान नभइ सम्मान गर्न खोजिएको त्यसको सुरुवात भएको बताए।
उनले जनयुद्धको सुप्रिमो प्रचण्ड भएको भन्दै योद्धाहरुलाई अन्यत्र जान नदिन भ्रम छर्ने काम गरेको आरोप लगाए।। निर्मल लामा मुक्ति सेनाको कमान्डरबाट कम्युनिस्ट पार्टीको महासचिवन बनेको उदाहरण दिँदै उनले नेतृत्वले गद्दारी गरे योद्धाहरुले नयाँ बाटो लिने अधिकार राख्ने बताए। उनले हिजोको लिगेसी देखाएर सधैँभरी दाम्लोमा बाँध्ने काम गर्न नहुने बताए।
‘इतिहासमा एउटा सन्दर्भमा भूमिका खेलियो होला तर भविष्य निर्माणका सन्दर्भमा कमान्डरहरु विचलित हुन्छन् भने स्वभाविकरुपमा योद्धाहरुले नयाँ बाटो लिने अधिकार प्राप्त गर्दछन्’, उनले भने, ‘जसरी निर्मल लामाले नयाँ बाटो लिनु भयो, तपाईंहरुले पनि नयाँ बाटो लिने अधिकार राख्नुहुन्छ। त्यसलाई कसैले रोक्न सक्दैन।’
उनले जनमुक्ति सेनाका कमान्डर इमान्दार भएको शिविरमा प्राप्त जनमुक्ति सेनालाई राज्यले दिएको रकम कल्याणकारी कोषमा राख्न सक्ने भन्दै उनले कमान्डरले आफ्ना बारेमा मात्रै सोचेको बताए।उनले शिविरको घोटलामाथि प्रश्न गर्ने अधिकार रहेको बताउँदै उनले प्रमाण जुटाएर अगाडि बढ्न आग्रह गरे।
उनले प्रचण्ड जनयुद्धका योद्धा र शान्ति प्रक्रियाप्रति इमान्दार नरहेको आरोप समेत लगाए।
Shares

प्रतिक्रिया