राजनीति


पाकिस्तानद्वारा भारतसँगको कूटनीतिक सम्बन्ध ‘डाउनग्रेड’, द्विदेशीय व्यापार पनि निलम्बन

पाकिस्तानद्वारा भारतसँगको कूटनीतिक सम्बन्ध ‘डाउनग्रेड’, द्विदेशीय व्यापार पनि निलम्बन

नेपालखबर
साउन २२, २०७६ बुधबार १५:४६,

कूटनीतिक सम्बन्ध डाउनग्रेड गर्नु भनेको एकदमै न्यूनस्तरमा मात्रै सम्बन्ध राख्नु हो। भारतले जम्मु कस्मिर सम्बन्धमा लिएको निर्णयमा असन्तुष्टि जनाउँदै पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिले यस्तो निर्णय गरेको हो।

त्यस्तै समितिले बुधबार नै भारतसँगको सम्पूर्ण व्यापार निलम्बन गरेको छ। समितिलाई पाकिस्तानकै उच्च सुरक्षा अंग मानिन्छ।

बुधबार प्रधानमन्त्री इमरान खानसमेत सहभागी बैठकमा पछिल्लो परिस्थितिबारे छलफल भएको हो। भारतले दुई दिनअघि मात्रै जम्मु कस्मिरको विशेष राज्य अधिकार खारेज गरेको थियो।

त्यसको पाकिस्तानले विरोध गरिरहेको छ। बैठकले भारतसँगको दुई देशीय सम्बन्ध पनि पुनर्विचार गरेको छ। त्यस्तै पाकिस्तानले यो विषय संयुक्त राष्ट्रसंघमा समेत लैजाने बताएको छ।

पाकिस्तानको बुझाई छ कि भारतले कस्मिर विरोधी निर्णय गरेर त्यहाँको बहुसंख्यक मुसलमान जनसंख्यालाई विस्थापित गर्न खोजेको छ।

पाकिस्तानले भारतीय कदमलाई अवैधानिक भन्दै आएको छ। सुरक्षा समिति बैठकले मुख्य चार निर्णय गरेको पाकिस्तानी सरकारी ट्विटर एकाउन्ट पीआईडी जीओभीले उल्लेख गरेको छ।

त्यसमा भारतसँगको कूटनीतिक सम्बन्ध तल्लोस्तरमा झार्ने, व्यापार सम्बन्ध निलम्बन गर्ने, अन्य दुई देशीय सहकार्य पुनर्विचार गर्ने, पछिल्लो घटनाक्रम संयुक्त राष्ट्रसंघमा लैजाने र अगष्ट १४ लाई कास्मिरीहरुको पक्षमा समर्पित गर्ने रहेका छन्।

पकिस्तानी अनलाइन पत्रिका डनका अनुसार सबै कूटनीतिक पदाधिकारीलाई भारतीय कर्तुतबारे विश्वभर प्रचार गर्न प्रधानमन्त्री इमरान खानले निर्देशन दिएका छन्। त्यस्तै उनले सुरक्षा निकायलाई पनि सबै गतिविधि सूक्ष्म रुपले नियाल्न निर्देशन दिएका छन्।

बैठकमा उच्च सरकारी अधिकारी, सैन्य प्रमुखको उपस्थिति थियो। बैठकले नयाँ दिल्लीमा रहेका आफ्ना राजदूतलाई समेत फिर्ता बोलाउने र पाकिस्तानमा रहेका भारतीय राजदूतलाई देश छोड्न आदेश दिएको छ।

पाकिस्तानी विदेशमन्त्री शाह महम्मद कुरेशीले एआरवाई न्युजसँग भने, ‘हाम्रा राजदूत फिर्ता बोलाउँछौँ, भारतीय राजदूतलाई फिर्ता पठाउँछौँ ।’

डनका अनुसार सुरक्षा समितिको बैठक १ घण्टाभन्दा लामो समय बसेको थियो। बैठकमा विदेश, रक्षा, आन्तरिक, शिक्षा, मानवअधिकार, काश्मिर मामिला, अर्थलगायतका मन्त्रीहरु उपस्थित रहेका थिए। त्यस्तै सबै सुरक्षा निकायका प्रमुख पनि बैठकमा सहभागी रहेका थिए।

सोमबार मात्रै नरेन्द्र मोदीको सरकारले जम्मु कास्मिरको विशेष अधिकार खोसेको थियो। भारतीय संविधानमा रहेको ३ सय ७० धारा खारेज गर्दै उक्त निर्णय भारतले लिएको थियो।

यसअघि जम्मु कास्मिरमा भारतीय अन्य राज्यका मानिसले सम्पत्ति किन्न पाउँदैनथे भने स्थायी रुपमा बस्ने व्यवस्था पनि अवैध थियो। तर भारतको पछिल्लो निर्णयले ती सबै व्यवस्था खारेज भएका छन्। जम्मु कस्मिर मुस्लिमबहुल मानिसको बसोबास छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .