राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले दिगो विकास लक्ष्य प्राप्तिका लागि तीनै तहका सरकारको संयुक्त प्रयास हुनुपर्ने बताएका छन्।
आइतबार दिगो विकास लक्ष्य प्रगति प्रतिवेदन २०१६–२०१९ र दिगो विकास लक्ष्यः स्थानीयकरण स्रोत पुस्तिका २०२० सार्वजनिकिकरण कार्यक्रममा बोल्दै उपाध्यक्ष डा. कँडेलले दिगो विकास लक्ष्य प्राप्तिको लागि संघ, प्रदेश र स्थानीय तिनै सरकारको संयुक्त प्रयास रहनुपर्ने बताएका हुन।
दिगो विकास लक्ष्य प्राप्तिको लागि संघ सरकारले नीति दिने, प्रदेश सरकारले सहजीकरण गर्ने तथा स्थानीय सरकारले कार्यान्वयन गर्नुपर्ने उनको भनाई छ। विशेषगरी स्थानीय सरकारलाई दिगो विकास लक्ष्य प्राप्तिको लागि प्रतिबद्धता साथ कार्यान्वयन गराउन नसके लक्ष्य प्राप्त हुन गाह्रो हुने उनले बताए।
उपाध्यक्ष कँडेलले नेपालको सामाजिक सूचक माथि गइसकेकोले देशलाई अल्पविकसित देशबाट विकासशील देशतर्फ जानुपर्ने आवश्यकता रहेको बताए। त्यसनिम्ति प्रतिस्पर्धी क्षमतालाई विकास गर्नुपर्ने उनको भनाई छ।
त्यसैगरी कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य बिमला राई पौडेलले दिगो विकास लक्ष्य प्राप्तिको लागि सबै क्षेत्रसँग साझेदारी र समन्वयको वातावरण बनाउनुपर्ने बताइन्। सामाजिक उत्तरदायित्व भन्दै नीजि क्षेत्रले निकै पैसा खर्च गर्ने भएकाले ति लगानीलाई एकीकृत गर्ने र खर्चको अनुगमन गर्ने हो भने आर्थिक रुपमा समस्या नहुने उनको भनाई छ।
राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले दिगो विकासको प्रगति अध्ययन गर्दा रोजगारी पाउने तथा आयआर्जन हुने क्षेत्रमा प्रगति हासिल गर्न नसकिएको बताए। उनले उद्योग क्षेत्रको कुल ग्राहस्थ उत्पादनमा योगदान घटेको तथा प्रजनन उमेरका महिलाहरुमा रक्तअल्पताको स्थिति र पाँच वर्ष मुनिका बालबालिकाहरुको रक्तअल्पताको स्थिति लक्ष्य अनुसारको प्रगति हासिल हुन नसकेको उनको भनाई छ।
सदस्य सचिव भण्डारीले दिगो बिकास लक्ष्य प्राप्तिको कुरा जताततै दस्तावेजीकरण गरिएको भएपनि काम गर्ने शिलशिलामा कठिनाईहरु देखिएको बताए।

प्रतिक्रिया