सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारहरुलाई तालिमको जरुरी रहेको बताएका छन्।
आइतबार काठमाडौँमा ‘आमसञ्चार र श्रमजीवि पत्रकार नीति, कार्यक्रम र बजेट’ विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री गुरुङले पत्रकारहरुलाई तालिमको जरुरी रहेको बताएका हुन्।
तालिम प्राप्त पत्रकार नहुँदा विकृति, विसंगति जन्मिएको भन्दै उनले पत्रकारहरुको निम्ति तालिम केन्द्रको विकास नगरी पत्रकारिता क्षेत्रको गुणस्तर नहुने बताए। आफ्नो योग्यता, क्षमता र गुणस्तरबिना बजारमा बिक्री हुन्नौँ भन्ने हेक्का पत्रकारहरुले पनि राख्नुपर्ने उनको भनाइ छ।
उनले विरोध गरेपछि मात्रै पत्रकार भइन्छ भन्ने धारणा परिवर्तन नगरेसम्म पत्रकारिता क्षेत्रलाई सम्मानित, मर्यादित र जिम्मेवार बनाउन नसकिने पनि बताए।
मन्त्री गुरुङले पत्रकारहरुका लागि प्रशिक्षण प्रतिष्ठान खोल्ने कुरा सरकारको नीति कार्यक्रममा ल्याउने बताए। उनले अनलाइन नवीकरणका लागि जिल्ला हुलाक कार्यालबाट हुनेगरी नीतिगत निर्णय गरिएको भए पनि हुलाकका कार्मचारी दक्ष नहुँदा प्रभावकारी नभएको बताए। पत्रकार प्रेस पासबारे कार्यविधि बनाएर वर्षैपिच्छे नवीकरण गर्ने परम्पराको अन्त्य गर्ने प्रयत्न गर्ने उनको भनाइ छ।
उनले पत्रकारको समस्या समाधानको निम्ति प्याकेज बनाएर अघि बढ्ने बताए। पत्रकारहरुका लागि कोभिड १९ कोरोना भाइरसविरुद्धको खोपको व्यवस्था गरिएको पनि उनले जानकारी दिए।
Shares

प्रतिक्रिया