प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुशताविरुद्ध आज (बिहीबार) आयोजना गरिएको आमहडताल सफल भएको नेकपा (प्रचण्ड–नेपाल) ले दाबी गरेको छ।
बिहीबार साँझ विज्ञप्ति जारी गरी उसले बन्द सफल पार्न सहयोग गरेको भन्दै नागरिकलाई धन्यवादसमेत दिएको छ।
मुठभेड निम्त्याउन सरकारले गरेको प्रयास आफ्नो पार्टी र जनताको सचेत प्रयत्नमार्फत असफल पारिएको विज्ञप्तिमा उल्लेख छ।
‘शान्तिपूर्ण रुपमा आयोजित आमहडताललाई बदनाम गर्न, असफल पार्न र नियोजित रुपमा मुठभेड निम्त्याउन सरकारले गरेको हर्कतलाई हाम्रो पार्टी र जनताको सचेत प्रयत्नमार्फत असफल पारिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘गृह मन्त्रालयका नाममा वक्तव्य जारी गर्दै जनतालाई आपसमा भिडाउने दुराशययुक्त प्रयत्नका बाबजुद आजको आमहडताल शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ।’
शान्तिपूर्ण प्रदर्शनका क्रममा काठमाडौंबाट स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, केन्द्रीय सदस्य हितमान शाक्य, विजय पौडेल, अमृता थापा, कृष्ण केसी लगायत देशैभरबाट सयौँ नेता–कार्यकर्तालाई गिरफ्तार गरिएको नेकपाले जनाएको छ। पक्राउ परेका कार्यकर्तालाई अविलम्ब रिहा गर्न पनि नेकपाले माग गरेको छ।
त्यस्तै जनकपुरमा शान्तिपूर्ण जुलसमा प्रहरीले लाठीचार्ज गरी स्थायी कमिटी सदस्य मातृका यादव र केन्द्रीय सदस्य रामचन्द्र झालगायतलाई गम्भीर घाइते बताएको विज्ञप्तिमा उल्लेख छ।
आमहडतालमा पाएको जनसमर्थतले आफूहरुलाई उत्साहित बनाएको भन्दै प्रतिगामी कदमलाई पराजित गर्न शान्तिपूर्ण आन्दोलनमा गाेलबन्द हुन नेकपाले आम नागरिकलाई आह्वानसमेत गरेको छ।
विस्तृत विज्ञप्तिमा हेर्नुहोस् :


प्रतिक्रिया