राजनीति


ज्यान मार्ने उद्योगमा पक्राउ परेका वडाध्यक्ष ८० हजार धरौटीमा रिहा

ज्यान मार्ने उद्योगमा पक्राउ परेका  वडाध्यक्ष ८० हजार धरौटीमा रिहा

नेपालखबर
माघ २२, २०७७ बिहिबार ६:५८,

जिल्ला अदालत बागलुङले ढोरपाटन नगरपालिका–४ खुंगाका अध्यक्ष तिलक पुनलाई ८० हजार रुपैयाँ धरौटीमा रिहा गरेको छ।

ज्यान मार्ने उद्योगका आरोपमा उनी पक्राउ परेका थिए। विसं २०७६ कात्तिकमा खुंगामा भएको कुटपिटका घटनामा पुनसहितका युवाले कुटपिट गरेर ज्यान मार्ने उद्देश्य राखेको जनाउँदै स्थानीयवासी लालबहादुर विक र श्यामबहादुर विकले पुन विरुद्ध जाहेरी दिएका थिए। उनीहरुले पुनसहित कोपिल बुढाथोकी, दिलीप बुढाथोकी, गनबहादुर फगामी, हर्कबहादुर बुढाथोकी र उमेश बुढाथोकीविरुद्ध जाहेरी दिएका थिए।

उनीहरुमध्ये २१ दिनदेखि न्यायिक हिरासतमा रहेका वडाध्यक्ष पुनसहित कोपिल बुढाथोकीलाई अदालतले जनही ८० हजारको दरले धरौटीमा रिहा बुधबार रिहा गरेको हो।

बुधबार भएको थुनछेकको बहसमा जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको इजलासले धरौटीमा रिहाइ गर्ने आदेश दिएको हो। उक्त घटनामा पुनलाई मरणासन्न हुनेगरी कुटपिट भएको थियो। टाउकोमा गम्भीर चोट लागेका पुनलाई पोखरा लगेर उपचारसमेत गराइएको थियो।

राष्ट्रिय जनमोर्चाबाट वडाध्यक्षमा निर्वाचित पुनलाई पदबाट हटाउन पार्टीबाटै असहयोग भएको समेत उनले टिप्पणी गरे। पुनलाई वडाध्यक्षबाट हटाउनका लागि निर्वाचन आयोगमा पनि मुद्दा दिइएको थियो। उक्त मुद्दामा पुनको वडाध्यक्षको पद तत्काल नहटाउन सर्वोच्च अदालतले आदेश दिएको थियो।

राजमोले भने पुनले पार्टी छाडेकाले वडाध्यक्षबाट मुक्त गर्न माग गरेर आयोगमा उजुरी गरेको थियो। पुनलाई वडाध्यक्षबाट हटाउन गरेको आदेश विपरीत सर्वोच्चले तत्काल आदेश कार्यान्वयन नगर्न भनेको थियो। धरौटीमा रिहा भएपछि वडाध्यक्ष पुनले आफू निर्दोष भएको पहिलो प्रमाण जुटेको बताए।

पुनका पक्षमा अधिवक्ता राम शर्मा, राजु गौतम र राधाकृष्ण ज्ञवालीले बहस गरेका थिए। पुनको विपक्षमा सरकारी वकिलसहित अधिवक्ता काजी गाउँले श्रेष्ठ र केशव पराजुलीले बहस गरेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad