प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को महिला संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ)ले नेकपा नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ।
बुधबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै महिला संघले माघ १६ गते गोरखाको सिरानचोक गाउँपालिकाको एक कार्यक्रममा नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ तथा विघटित प्रतिनिधि सभा सदस्य झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चारित्र हत्या गरेको भन्दै प्रक्राउ गरी कारबाही गर्न माग गरेको हो।
ज्ञापन पत्रमा नेतृ झाँक्रीले राष्ट्रपति भण्डारीको चारित्र हत्या गर्दै विभिन्न लाञ्छना, गाली बेइज्जती गरी व्यक्तिगत, पारिवारिक तथा राष्ट्रपतिकै इज्जतमा समेत धक्का पु¥याउने नियतले आपत्तिजनक र अपमानजनक शब्दहरु प्रयोग गरेकाले प्रक्राउ गरी कानुन बमोजिम कारबाही गर्न माग गरिएको छ।
अनेमा संघकी नेतृ सुजिता शाक्यले झाँक्रीले राष्ट्रपति र सिंगो संस्थामाथि नै अपमानजनक ब्यवहार गरेकाले तत्काल कारबाही गर्न माग गरिएको बताइन्।
गृहमन्त्री थापाले ज्ञापन पत्र बुझ्दै राष्ट्रपतिमाथि अशोभनीय आरोप लगाउनेलाई कडा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने बताएको नेतृ शाक्यले जानकारी दिइन्।
Shares

प्रतिक्रिया