नेपाली कांग्रेसका १३ वटै भातृ संस्थाहरूले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्धको आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन्।
भोलि माघ १९ गते सबै भातृ संस्थाहरुले ७७ जिल्लामै एकसाथ प्रदर्शनको तयारी गरिएको बताउँदै उनीहरुले सो विरोधमा सहभागिताका लागि आह्वान गरेका हुन्।
‘संसद विघटनमार्फत् सर्वसत्तावादउन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिड विरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका बिषयमा सरकारी उदासिनतालगायत समग्र मुद्दालाई अघि सारेर हुने भोलिको प्रदर्शनमा सहभागी बन्न देशभरका हाम्रा सबै सदस्य, समर्थक, शुभचिन्तक एवं समस्त जनसमुदायमा हामी हार्दिक आग्रह गर्दछौं,’ १३ वटै भातृसंस्थाका प्रमुखले आइतबार गरेको संयुक्त अपीलमा भनिएको छ।
नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मी, नेपाल तरुण दलका जीतजंग बस्नेत, नेपाल विद्यार्थी संघका राजीव ढुंगाना, नेपाल प्रजातन्त्र सेनानी संघका टंकप्रसाद शर्मा कँडेल, नेपाल किसान संघका भानुभक्त सिग्देल, नेपाल दलित संघका मीनबहादुर विश्वकर्मा, नेपाल भूतपूर्व सैनिक संघका कर्णेल धनबहादुर मास्की राना, नेपाल आदिवासी जनजाति संघका इन्द्रबहादुर गुरुंग, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका भोजराज श्रेष्ठ, नेपाल मुस्लिम संघका अब्दुल सतार, नेपाल तामांग संघका कवेलबहादुर लामा, नेपाल राष्ट्रिय मगर संघका ओम थापा मगर र नेपाल ठाकुर समाजका अनिरुद्ध्रप्रसाद ठाकुरले संयुक्तरुपमा सो आह्वान गरेका हुन्।
Shares

प्रतिक्रिया