राजनीति


प्रधानमन्त्री ओलीद्वारा पुल्चोक–गोन्द्राङ ६ लेन सडक स्तरोन्नति कार्यको शुभारम्भ

प्रधानमन्त्री ओलीद्वारा पुल्चोक–गोन्द्राङ ६ लेन सडक स्तरोन्नति कार्यको शुभारम्भ

नेपालखबर
माघ १७, २०७७ शनिबार ११:३८,

प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुरस्थित पुल्चोक–गोन्द्राङ छ लेन सडक स्तरोन्नति कार्यको शुभारम्भ गरेका छन्।

भरतपुर महानगरपालिका– १० स्थित विमानस्थल अगाडि शनिबार प्रधानमन्त्री ओलीले सो कार्यको शुभारम्भ गरेका हुन्। उनले सोही स्थानमा निर्माण गरिएको शिलालेखको पनि अनावरण गरेका थिए।

सो अवसरमा सडक विभागका महानिर्देशक केशवकुमार शर्माले सडक आयोजनाका विषयमा विस्तृत जानकारी गराएका थिए।

पूर्वपश्चिम राजमार्गको भरतपुर महानगरपालिकाभित्र पर्ने सडकलाई ६ लेनमा विस्तार गर्न लागिएको हो। शहरी सौन्दर्यकरणलाई समेत ख्याल गरी ६.०८ किलोमिटर लामो सडक विस्तारको काम थालिएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ।

सडक निर्माणको जिम्मा इण्डो सगुन जेभी बुटवलले पाएको छ। दुई वर्ष चार महिनाभित्र काम सम्पन्न गर्ने गरी सम्झौता भएको छ। गत असोज २६ गते भएको सम्झौताअनुसार ठेकेदार पक्षले विसं २०७९ फागुन १० गते निर्माणको काम गरिसक्नुपर्छ। सम्झौतापछि ठेकेदार कम्पनीले काम गरिरहेको छ। डिभिजनल प्रमुख कृष्णराज अधिकारीका अनुसार रु एक अर्ब १२ करोड लागतमा स्तरोन्नति गर्न लागिएको हो।

टिकौली वन छेउ गोन्द्राङदेखि केन्द्रीय बस टर्मिनल चोकसम्म अहिले दुई लेन रहेको सडक केन्द्रीय बस टर्मिनलदेखि रिजालचोकसम्म चार लेन छ। यो सडकमा अहिले चौबिसकोठी, भरतपुर आरोलो र बजार क्षेत्रमा चार लेन छ। दुई लेन भएको स्थानमा थप चार लेन र चार लेन भएको स्थानमा थप दुई लेन थपिने अधिकारीले जानकारी दिए।

सडक छेउका अतिक्रमित घरटहरा भत्काउनेदेखि बाटोको साइड सफा गर्ने काम भइरहेको छ भने ५० मिटर चौडाइ रहने छ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुली भूमिगत गरिँदै छ। शहरी सौन्दर्यतालाई समेत ख्याल गरेर सडक स्तरोन्नति गरिँदै छ।

सडकको दायाँबायाँ ११.५ र ११.५ मिटरको कालोपत्र हुनेछ। त्यसका बीचमा तीनदेखि चार मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन दुवैतिर हुने अधिकारीले जानकारी दिए। त्यसभन्दा पर तीनदेखि चार मिटरको फुटपाथ हुनेछ। बीचको मेडियन र सर्भिस लेनको डिजाइन तीन खण्डमा फरक–फरक रहेको छ।

पुल्चोकदेखि लायन्सचोकसम्म, लायन्सचोकबाट क्याम्पस गेट र क्याम्पस गेटबाट गोन्द्राङसम्म अलगअलग डिजाइन भएकाले त्यसमा केही फरक हुनेछ। बीचको भागमा हरियालीसहितका फूल रोपिनेछ।

यो क्षेत्र जिल्लाको घनाबस्ती र बजार रहेको क्षेत्र हो। यसकै आसपासमा अधिकांश सरकारी कार्यालय रहेका छन्। बाइपास सडक र ग्रामीण क्षेत्रबाट आएका सडक यही आएर जोडिएका छन्। भरतपुर विमानस्थल यसै सडकसँग जोडिएको छ। विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्डसँगै यसलाई पनि स्तरोन्नति गर्न लागिएको हो। यस क्षेत्रको सडक साँघुरो हुँदा दुर्घटना हुने गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad