अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जसरी पनि तोकिएकै समयमा निर्वाचन हुने दाबी गरेका छन्।
प्रधानमन्त्री ओली नेतृत्वको नेकपाका महासचिव पौडेलले जस्तोसुकै परिस्थितिमा पनि सरकार चुनाव गर्न तयार रहेको जनाउँदै सबै दलहरुलाई चुनावमा केन्द्रित रहन आग्रह गरे।
ओली निकट प्रेस संगठनले मंगलबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले भने, ‘निर्वाचन भएरै छाड्छ, हुन नदिने र रोक्न सक्ने ताकत कसैसँग छैन।’
निर्वाचन आयोगले निर्वाचनको तयारी र सुरक्षा निकायले मतदातालाई सरक्षित तरिकाले मतदान गर्ने वातावरण बनाउन काम सुरु गरेको जनाउँदै पौडेलले बैशाख १७ र २७ मा हुने निर्वाचनका लागि तयारी भइसकेको जनाए। उनले यसका लागि सरकारले स्रोत व्यवस्थापनमा लागेको बताए।
उनले ताजा जनादेशमा जानु उपयुक्त विकल्प भएको बताउँदै प्रचण्ड–माधव पक्षलाई कटाक्ष गर्दै सडकमा गरिने आन्दोलनको कुनै अर्थ नभएको टिप्पणी गरे।
‘सडकमा आन्दोलन गर्न भन्दा चुनाव केन्द्रित सभा गर्न आन्दोलनरत दलहरुलाई म आग्रह गर्छु, निर्वाचनमा केन्द्रित नभए पछि पछुताउन पर्ने अवस्था आउन सक्छ’, उनले भने।
पौडेलले निर्वाचनमा सबै दलहरुले भाग लिने समेत दावी गरे। उनले प्रतिनिधि सभा पुनःस्थापना हुने कुनै सम्भावना नरहेको जिकिरसमेत गरे। संविधान बनाउँदाका प्रमाणले नै संसद पुनःस्थापना नहुने उनको जिकिर छ।
अहिले संसद विघटनसम्बन्धी मुद्दा अदालतमा विचारधीन रहेको जनाउँदै ओली समूहका नेतासमेत रहेका पौडेलले स्वतन्त्र न्यायपालिकाको निर्णय आफूहरुलाई मान्य हुने बताए।
आगामी चुनावमा सरकारका कामलाई हेरेर जनताले अत्यधिक मत दिने र ठूलो दल पनि ओली नेतृत्वकै नेकपा बन्ने उनको दावी छ।
अर्को प्रसंगमा अर्थमन्त्री पौडेलले कोरोनाविरुद्धको भ्याक्सिन सबै नेपालीलाई निःशुल्क लगाइने पनि जनाए। भोलिदेखि प्रधानमन्त्रीले उद्घाटन गरेर खोप लगाउन सुरु गर्ने उनले जनाए।
थप खोप खरिदका लागि सरकारले तयारी गरिरहेको र अपुग हुन नदिने उनले बताए। पौडेलले पछिल्लो समय अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख भएकोसमेत जनाए।
Shares

प्रतिक्रिया