राजनीति


अमेरिकासँग ‘नयाँ मार्ग’ स्थापनाका लागि तयार रहेको मदुरोको घोषणा

अमेरिकासँग ‘नयाँ मार्ग’ स्थापनाका लागि तयार रहेको मदुरोको घोषणा

नेपालखबर
माघ १२, २०७७ सोमबार ०:१७,

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले अमेरिकासँग ‘नयाँ मार्ग’ स्थापनाका लागि आफू इच्छुक रहेको बताएका छन्।

अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन आएपछि मदुरोले अमेरिकासँग सम्बन्ध सुधारको प्रयास थालेका हुन्। डोनाल्ड ट्रम्पको शासनकालमा अमेरिका र भेनेजुएलाबीचको सम्बन्ध तनावपूर्ण थियो।

‘हामी राष्ट्रपति जो बाइडेनको सरकारसँग आपसी सम्मान, वार्तालाप, सञ्चार र समझदारीमा आधारित सम्बन्धको नयाँ धारमा चल्न इच्छुक छौँ,’ भेनेजुयलाका वामपन्थी नेता मदुरोले आफ्ना समर्थकलाई गरेको एक सम्बोधनमा शनिबार भने, ‘दुई मुलुकबीचको सम्बन्धलाई सुमधुर बनाउन भेनेजुयला तयार छ।’

ट्रम्प प्रशासनले वामपन्थी नेता मदुरोलाई सत्ताबाट हटाउन भेनेजुयलाविरूद्ध सन् २०१९ देखि प्राकृतिक ग्यास र तेलको कारोबारलगायतका कैयौँ आर्थिक प्रतिबन्धको घोषणा गरेको थियो। मदुरोलाई अमेरिकाले एक ‘तानाशाह’ का रूपमा हेर्दै आएको छ।

वर्षौंको चीसो सम्बन्धपछि अमेरिकी सरकारले विपक्षी नेता जुआन गुएइदोलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपतिका रूपमा मान्यता दिएपछि २३ जनवरी २०१९ मा दुई देशबीचको कूटनीतिक सम्बन्ध पूर्णरूपमा तोडिएको थियो।

नोभेम्बरमा अमेरिकी राष्ट्रपतिमा निर्वाचनमा विजयी भएपछि बाइडेनलाई मदुरोले बधाइ दिएका थिए। भेनेजुएला ‘संयुक्त राज्य अमेरिकाको जनता र सरकारसँग वार्ता र समझदारीमार्फत् राम्रो सम्बन्ध राख्न तयार छ,’ मदुरोलेले डिसेम्बरमै भनेका थिए।

बाइडेन प्रशासनले भेनेजुएलाबारे निकै नरम अडान लिने र नयाँ सङ्क्रमणकालीन सरकार निर्माणका लागि अन्तर्राष्ट्रिय मध्यस्थतामा अघि बढ्ने विश्वास विश्लेषकहरूले लिएका छन्।

यद्यपि बाइडेनको विदेशमन्त्री मनोनीत एन्थोनी ब्लान्केनले मदुरोलाई यसपहिले ‘क्रुर तानाशाह’को रूपमा वर्णन गर्ने गरेका थिए।

भेनेजुएलाको राष्ट्रिय सभाको नेतृत्व (सभामुख) मा मदुरो पक्षधर उम्मेदवारलाई शपथ खुवाइएपछि गुएइदोेलाई नै समर्थन गर्ने अमेरिकी नीतिलाई अमेरिकाले नवीकरण गरेको थियो। डिसेम्बरमा भएको निर्वाचनमा गुएइदोको विपक्षी दलले निर्वाचनको निष्पक्षतामाथि प्रश्न गर्दै बहिष्कार गरेको थियो।

राष्ट्रिय सभाका पूर्व अध्यक्ष (सभामुख) गुएइदोेलाई नयाँ संसदले प्राविधिकरूपमा जिम्मेवारीबाट हटाएको छ । यद्यपि उनले विदेशी समर्थन लिई छाँया विपक्षी सांसदहरूको समानान्तर निकाय कायम गर्ने योजना बनाएका छन्।

संयुक्त राष्ट्र संघका अनुसार २०१५ पछि पाँचलाख भन्दा बढी भेनेजुएलीहरू राजनीतिक र आर्थिक उथलपुथलको कारण विस्थापित बनेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad