प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदमविरुद्ध विवेकशील साझा पार्टीले इलाम बजारमा विरोध प्रदर्शन गरेको छ। इलाम बजारमा प्लेकार्ड प्रदर्शन सहित गरिएको विरोध सभामा विवेकशीलका सदस्य र स्थानीयको सहभागीता थियो।
विरोध सभामा बोल्दै विवेकशील साझाका केन्द्रीय संयोजक मिलन पाण्डेले प्रधानमन्त्रीले गरेको संसद विघटन असंवैधानिक मात्र नभएर नागरिकको मतको, आशाको अनि अपेक्षा माथिको घात समेत भएको बताए।
विवेकशील साझा पार्टी पहिलो दिन देखि देशभरि यो प्रतिगमनका विरुद्ध सडकमा विरोध जनाईरहेको छ। विरोध सभामा बोल्दै पार्टीका नेताहरुले वर्तमान सरकार शुरुदेखि नै गलत बाटोमा रहेकाले अब नागरिकहरुले सडकबाटै परास्त गर्नुपर्ने बताए। केपी ओलीको सट्टामा प्रचण्डलाई सत्ता सुम्पिन होइन, लोकतन्त्र र संविधानको रक्षाका लागि नागरिकहरु सडकमा आउनुपर्नेमा उनीहरुको जोड थियो।
‘विधि नमान्ने र अराजकतामा रमाउने नेतृत्व रहेसम्म यस्ता प्रतिगमन भइरहन्छन तर अहिले केपी ओली मात्र हैन उनको पुस्तालाई नै प्रतिस्थापन गर्ने उपयुक्त समय आएको छ’ संयोजक पाण्डेले भने।
केही दिनमै एकिकरण समायोजन प्रकृया सकेर संगठन विस्तारमा लाग्न चाहेको भन्दै पार्टीलाई वैकल्पिक मात्र हैन सक्षम प्रतिस्थापक शक्ति बनाउने गरि काम गर्ने पाण्डेको तर्क थियो।
Shares

प्रतिक्रिया