प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान मन नपरेको बताएका छन्।
शनिबार मार्क्सवादी ज्ञान केन्द्रले आयोजना गरेको ‘संसद् विघटन र समाजवादी क्रान्तिको मार्गचित्र’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराईले प्रधानमन्त्री ओलीलाई संविधान मन नपरेको र त्यसमा संशोधनका लागि दुईतिहाइ मत मागेको खुलासा गरेका हुन्।
उनले प्रधानमन्त्री ओलीलाई पछिल्लो परिवर्तन मन नपरेको बताए।
‘संविधान संशोधनका लागि उहाँले प्रतिनिधि सभा विघटन गरेर दुईतिहाइ मत माग्नुभएको छ’, उनले भने, ‘उहाँले भन्नुभएको छैन, किन दुईतिहाइ चाहियो?, कुन इस्युमा संविधान संशोधन गर्ने भनेर। आज संविधानमा भएका इस्युहरु उहाँलाई संविधान बनाउने क्रममै मन परेको थिएन, उहाँ ती इस्युलाई हटाउन चाहनुहुन्छ।’
उनले ती मुद्दाबारे सबै जानकार रहेको बताए। उनले अहिले प्रधानमन्त्रीले बोकेका मुद्दा प्रतिगामी र दरबारीयाहरुले बोक्ने मुद्दा भएको उनको आरोप थियो।
नेपालको संविधानको निर्माता आफ्नो पार्टी, वर्ग, विचार र सिद्धान्त भएकोले संविधानप्रति आफूहरुको लगाव र स्नेह रहेको उनको भनाइ छ।
उनले प्रधानमन्त्रीको पछिल्लो यात्रा दक्षिपन्थमा तीव्र गतिमा अगाडि बढेको बताए। ‘हाम्रो प्रधानमन्त्री द्रूत गतिमा सेन्टरबाट दक्षिणतिर जाँदै हुनुहुन्छ’, उनले भने।
उनले अहिले नेकपामा भएको विवाद ओली–प्रचण्ड व्यक्तिमा केन्द्रित नभइ प्रवृत्तिमा केन्द्रित रहेको बताए। उनले अब ओली र प्रचण्डले हात मिलाउँदैमा यो विवाद नसकिने दावी गरे।
‘अहिलेको विवादलाई प्रचण्ड र केपी ओलीबीचको लडाईंका रुपमा बुझ्न थालियो भने एकदमै साँघुरो हुन्छ’, उनले भने, ‘भोलि उहाँहरुले यत्तिकै हात मिलाइदिनु भयो भने सिधिन्छ त यो मुद्दा?’
प्रतिनिधि सभा विघटनको मुद्दामाथि सर्वोच्च अदालतमा भइरहेको बहसतर्फ संकेत गर्दै नेता भट्टराईले संविधानमाथिको प्रश्नमा वकिलहरु व्यवसायिकता भनेर विचारबाट भाग्न नपाउने बताएका छन्।
नेता भट्टराईले वकिलहरु कुनै फौजदारी विषयको मुद्दामा लड्न स्वतन्त्र भए पनि संविधानको विषयमा व्यवसायिक धर्म भनि जान नमिल्ने बताए। संविधानमाथिको प्रश्नमा वकिलहरु व्यवसायिकता भनेर विचारबाट भाग्न नपाउने उनको भनाइ छ।
कार्यक्रममा पत्रकार मनहरि तिमिल्सिनाद्वारा लिखित ‘कम्युनिस्ट स्कुल’ दोस्रो संस्कारणको विमोचनका साथै पुस्तकमाथि परिचर्चा समेत गरिएको थियो।

प्रतिक्रिया