प्रचण्ड-नेपाल नेतृत्वको नेकपाका एक अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली देश महामारीको संकटमा रहेको बेला आफ्नै स्वार्थमा लिप्त भएको आरोप लगाएका छन्।
शुक्रबार सुर्खेतमा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले देश र जनताको हितभन्दा आफ्नै गुटको स्वार्थपूर्तिमा लागेको आरोप लगाएका हुन्।
‘निरोले रोम जलिरहेको बेला बाँसुरी बजाएझैं अरू केही गर्नुभएन,’ नेता नेपालले भने, ‘देश महामारीको संकटमा रहेको बेला पनि उहाँ देश र जनताकोभन्दा आफ्नो गुटको भलो चिताउन भ्रष्टाचारमा व्यस्त रहनुभयो।’
प्रधानमन्त्री ओलीले सरकारले बजेट ल्याउँदा पनि पार्टीमा सल्लाह नगरेको आरोप लगाए।
नेताले नेपालले भने, ‘उहाँले विकासका कुरा गर्नुभयो, काम गर्नुभएन। त्यो कुरा जनताले पत्याएनन्।’
प्रधानमन्त्री ओलीले कहिल्यै एमाले नभएको आरोप लगाउँदै नेता नेपालले प्रश्न गरे, ‘जनताको बहुदलीय जनवाद कहिले मान्नुभयो? जबजको कुरा अहिले गर्नुहुन्छ? पार्टी एकताको बेला जबज सिन्द्धात आफैं नमान्ने भनेर हस्ताक्षर गर्नु भएको उहाँले नै हैन?’
यसैकारण बहुमत सदस्य आफ्ना पक्षमा रहेको बताउँदै उनले सूर्य चिह्न र पार्टी नाम ओलीले नपाउने दाबी पनि गरे।

प्रतिक्रिया