पेनसिल्भेनिया राज्यमा सन् १९४२ नोभेम्बर २० मा जन्मिएका बाइडेन अमेरिकाको सबैभन्दा ज्येष्ठ राष्ट्रपति बन्न लागेका हुन्।
सन् १९७२ मा पहिलोपटक सिनेटमा निर्वाचित बाइडेनले त्यसपछि लगातार ६ पटकसम्म सिनेटरको रुपमा काम गरेका थिए। सिनेटमा उनले ३६ वर्ष बिताए।
सन् १९८८ मा र दोस्रोपटक सन् २००८ मा बाइडेनले डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपतिको लागि उम्मेद्वारी पेश गरेका थिए। तर दुवैपटक उनी उम्मेदवार भने बन्न सकेनन्।
यद्यपी सन् २००८ मा बाराक ओबामाको पालामा उनी उपराष्ट्रपति बने। दोस्रो कार्यकालका लागि पनि ओबामाले उनलाई उपराष्ट्रपतिको भूमिका प्रदान गरेका थिए।
बाइडेनबारे केही रोचक तथ्यहरु
१. बाइडेन आइसक्रिमका पारखी हुन्। सन् २०१६ मा एक अन्तर्वार्तामा बाइडेनले आफूलाई आइसक्रिम असाध्यै मनपर्ने बताएका थिए साथै उनले आफू धुम्रपान र मद्यपानबाट टाढै बस्ने बताएका थिए।
२. बाइडेन सानोमा राम्रोसँग बोल्न सक्दैनथे। उनी ‘स्टटर’ अर्थात् भकभक गरेर बोल्दथे जसका कारण उनलाई आफ्ना साथीहरुले पनि गिज्याउँथे।
३. सन् १९७२ मा बाइडेनले आफ्नो पहिलो श्रीमती नेलिया र एक वर्षकी छोरी एमी गुमाएका थिए। उनका छोरा बिउ र हन्टर घाइते भएका थिए। घाइते छोराहरु अस्पतालमै हुँदा उनी सिनेटमा निर्वाचित भएका थिए।
४. बाइडेन क्याथोलिक क्रिस्चियन समुदायको दोस्रो राष्ट्रपति बन्दैछन्। जोन एफ केनिडी यस समुदायकाे पहिलो राष्ट्रपति थिए।
५. जेठी श्रीमती नेलियाकी आमाले विवाह अगाडि बाइडेनलाई के काम गर्छौ भनेर प्रश्न गर्दा उनले आफू देशको राष्ट्रपति बन्ने उत्तर फर्काएका थिए।
६. बाइडेन विद्यालय पढ्दा राम्रो फुटबल खेल्थे। फुटबलले आफूलाई अप्ठेरो परिस्थितीसँग लड्न सिकाएको उनी बताउँछन्। सन् १९६० मा उनले फुटबलमा खेलेको हरेक खेल जितेका थिए।
७. बाइडेनले दुईवटा कुकुर पालेका छन् जसको नाम च्याम्प र मेजर हो।
८. उनी कारका पारखी हुन्। उनीसँग अझै ६७ कारभेटी स्टिनग्रे कार छ। उक्त कार उनले आफ्ना पिताबाट पाएका थिए।
९. बाइडेनले अमेरिकामा महिलाविरुद्ध हुने हिंसाविरुद्धको कानुन बनाउन महत्वपूर्ण योगदान दिए। सन् १९९४ मा सिनेटर रहेका बाइडेनकै पहलमा ‘भायोलेन्स एगेन्स्ट वुमेन एक्ट’लाई राष्ट्रपति बिल क्लिन्टनले हस्ताक्षर गरेर कानुन बनाएका थिए। (एनडीटीभी र एजेन्सीको सहयोगमा)
प्रतिक्रिया