राजनीति


संसद् विघटनका अन्तर्राष्ट्रिय डिजाइनरले वैशाखपछि ओली फालेर अर्को खिलराज ल्याउँदैछन् : वर्षमान पुन

संसद् विघटनका अन्तर्राष्ट्रिय डिजाइनरले वैशाखपछि ओली फालेर अर्को खिलराज ल्याउँदैछन् : वर्षमान पुन

नेपालखबर
माघ ६, २०७७ मंगलबार ८:३८,

 नेकपा स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीलाई गणतन्त्र मन नपरेका कारण अर्कै बाटो हिँड्न खोजेको बताएका छन्।

२०६२/०६३ को जनआन्दोलन उत्कर्षमा पुग्दै गर्दा ओलीले नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना सम्भव नभएको अभिव्यक्ति दिएको स्मरण गर्दै नेता पुनले यस्तो बताएका हुन्। उनले तत्कालीन एमालेले गणतन्त्रको लाइन पारित गर्दा ओलीले ‘नोट अफ डिसेन्ट’ नै लेखेको बताए।

‘उहाँले नेपालमा गणतन्त्र आउनु बयलगाढा चढेर अमेरिका गएजस्तै कठिन हुने बताउनुभएको थियो’, नेकपा प्रचण्ड–नेपाल पक्षका कायर्यकर्ता भेलालाई प्यूठानमा सम्बोधन गर्दै नेता पुनले भने, ‘हामीले उहाँको विचारमा परिवर्तन आयो होला भन्ने विश्वास ग¥यौं, तर उहाँ बयलगाढाकै मनोविज्ञानमा हुनुहुँदोरहेछ।’

गणतन्त्रविरोधी भएर पनि त्यसका सबै प्रतिफल लिएको र नेता नै मै हुँ भन्ने घमण्ड र अहंकारका कारण ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको आरोप पुनले लगाए।

पूर्व मन्त्रीसमेत रहेका पुनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संवैधानिक इजलासमा पटक–पटक बहुमत प्राप्त दलको नेताले सरकार चलाउन सकेन र जनतामा जान्छु, चुनावमा जान्छु भन्दा पाउने कि नपाउने? भन्ने प्रश्न गरेको प्रसंग कोट्याए। पुनले बहुमत प्राप्त दलको नेताले चाहँदैमा संसद विघटन हुने व्यवस्था संविधानमा नरहेको हेक्का राख्न सुझाव दिए।

‘वकिलहरुको र हाम्रो तर्क के हो भने पाउँदैन। एक जना नेताले सकेन भने अरु पनि विकल्प हुन्छ, राजीनामा दिएर हिँड्ने हो’, उनले भने, ‘काम गर्न सकेन भने राजीनामा दिन्छ, अर्को आउँछ कुरा स्पष्ट छ।’ ओलीविरुद्ध आफ्नै पार्टीका बहुमत सदस्यले दर्ता गरेको अविश्वास प्रस्ताव संसदमा विचाराधीन रहेको भन्दै उनले आफ्नो दलमा र पार्टीमा समेत विश्वास कायम गर्न नसक्ने नेतालाई जनमत भंग गर्ने अधिकार नरहेको बताए।

‘बहुमतको प्रधानमन्त्रीलाई सरकार चलाउन सकिन भनेर संसद भंग गर्ने अधिकार संविधानले कहीं पनि दिएको छैन’, पुनले भने, ‘राजीनामा दिएर बाटो लाग्ने हो, मार्ग प्रशस्त गर्ने हो। घात गर्ने होइन।’

संविधनमा कहीं पनि संसद भंग हुने व्यवस्था नरहेकाले पुनःस्थापना हुनेमा उनको विश्वास छ। संसद् पुनःस्थापना नभए संविधान मिचिने र अन्ततः ७० वर्ष लामो संघर्षको बलमा प्राप्त राजनीतिक उपलब्धि गुम्ने प्रक्रियातिर जाने पुनको भनाइ थियो।

संविधानमा व्यवस्था नभएकोबारे जानकारी भए पनि राष्ट्रिय÷अन्तर्राष्ट्रिय शक्ति केन्द्र तथा निकायको सेटिङमा प्रतिनिधिसभा विघटन भएको पछिल्ला घटनाक्रमले पुष्टि गरेको उनको भनाइ छ। ओलीले विपक्षी र विरोधीलाई पेलेर अझै डेढ/दुई वर्ष सत्ता चलाउने सपना देखेको तर, त्यो सम्भव नभएको उनले बताए। निर्वाचन घोषणा गरेका कारण वैशाख अन्तिमसम्म वैधानिकता रहे पनि त्यसपछि वर्तमान कामचलाउ सरकारको वैधता सकिने पनि उनले स्पष्ट गरे।

ओलीलाई सक्साएर प्रतिनिधिसभा विघटन गराउने शक्तिले नै अर्को खिलराज रेग्मीको खोजी गरिसकेको दाबी उनको छ। ‘ओलीजीले सबैलाई पेलपाल गरेर अझै डेढ÷दुई वर्ष सत्ता चलाउँछु भन्ने सपना देखिरहनुभएको छ’, पुनले भने, ‘जसको सेटिङमा प्रतिनिधिसभा सिध्याउनुभयो, उसैले वैशाखपछिका लागि अर्को खिलराजको खोजी गरिरहेको छ।’

नेपालमा संविधान जारी गर्नुहुँदैन भन्दै संविधान रोक्न आएकाहरु र संविधान जारी भएपछि पनि लागू हुन दिन्नौं भन्नेहरु अहिले पनि शक्तिमै रहेको र उनीहरुको इशारामा ओलीले लोकतन्त्र, गणतन्त्र, समावेशीता तथा सामाजिक न्यायमाथि प्रहार गरेको पुनले उल्लेख गरे। ‘नेपालको संविधान, गणतन्त्र, समावेशीता, समाजिक न्याय जस्ता उपलब्धी खोस्ने गम्भीर खालका डिजाइन छन् । त्यसका ओली मतियार मात्र भन्नुभएको छ। वैशाखपछि उहाँलाई पनि मिल्काइन्छ। त्यसैले हामीले समय छँदै सजग गराउ नचाहेका छौं’ पुनले भने।

ओलीले अरुका लागि खनेको खाल्डोमा आफैं फस्ने नेता पुनको दाबी छ। तर, कांग्रेसलगायत लोकतान्त्रिक आन्दोलनका सहयात्रीहरुसँग आन्दोलनमा सहकार्य गरेर संविधान बचाएरै छाड्ने अठोट पुनले व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad