नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पहिले संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्ने बताएका छन्।
सोमवार बिहान सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया दिँदै पौडेलले लेखेका छन्– ‘लोकतन्त्रको चीर हरण हुँदा काँग्रेस चुप लागेर बस्ने कुरा हुँदैन। त्यसैले, संविधान जोगाएर मात्र निर्वाचनमा जानु पर्छ।’
पौडेलले प्रतिनिधि सभा पुनस्र्थापनामा जोड दिँदै यसपछिमात्र निर्वाचनमा जानु उपयुक्त हुने कुरामा निरन्तर जोड दिँदै आएका छन्।
जनताको मतलाई लात हान्नेले फेरि जनतामा जाने कुरा गर्नै नमिल्ने वरिष्ठ नेता पौडेलको भनाइ छ।
उनले भनेका छन– ‘जनताको मतलाई लात हान्नेले जनताको कुरा गर्न मिल्दैन। त्यसैले संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्छ।’
कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचन वा प्रतिनिधि सभा पुनस्र्थापना गर्ने अदालतको फैसला दुबै स्विकार्न तयार रहेको भनी अस्पष्ट धारणा राखिरहेका बेला पौडेलले भने पहिले प्रतिनिधि सभा पुनस्र्थापना हुनुपर्नेमा जोड दिएका छन्।
प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए। ओलीको सो कदमलाई असंवैधानिक ठहर गर्दै कांग्रेसले देशभर आन्दोलन गरेको छ। तर असंवैधानिक रुपमा विघटन गरिएको संसदको पुनस्र्थापना हुनुपर्छ भन्ने मागलाई चर्काउन भने पार्टीको संस्थापन पक्ष हिच्किचाइरहेको छ।

प्रतिक्रिया