सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको प्रतिनिधिसभा विघटनविरूद्धका रिटमाथिकाे बहस आजको लागि सकिएको छ।
आज रिट निवेदनको पक्षमा चार जना अधिवक्ताले बहस गरेका छन्।
अधिवक्ताहरु सन्तोष भण्डारी, गिरिराज भट्ट, वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य र सुनिल पोखरेलले बहसमा भाग लिँदै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको बताएका थिए।
संसदमा सरकार गठनका अरु विकल्प रहे पनि प्रधानमन्त्रीले त्यसलाई बेवास्ता गरेको वकिलहरुको जिकिर थियो।
उनीहरुले संसदमा अविश्वास प्रस्ताव दर्ता हुनेबित्तिकै संसद् विघटन गर्नु नपर्ने अवस्था रहेको बताएका थिए। अन्य दलहरुसमेतबाट विश्वासको मत हासिल हुनसक्ने भए पनि प्रधानमन्त्रीले त्यसो नगरेको वकिलहरुको तर्क थियो।
गत पुस ५ मा संसद विघटनभएपछि यसविरुद्ध दर्जन बढी रिट निवेदन सर्वोच्च अदालतमा परेको छ। सोही रिटमाथि अहिले सर्वोच्चको संवैधानिक इजलासमा बहस भइरहेको हो।
उक्त इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन्।
प्रतिनिधिसभामा सरकार बन्ने अर्को विकल्प थिएन भनेर सर्वोच्चमा कल्पना गर्न मिल्दैन : भीमार्जुन आचार्य

प्रतिक्रिया