प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शनिबार) काठमाडौं निवासी प्रदेश नं १ का आफ्ना कार्यकर्तालाई विशेष सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार दिउँसो १ बजे काठमाडौंको तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा प्रदेश १ का काठमाडौंवासी अगुवा कार्यकर्ताकाे भेला आयोजना गर्न लागिएको हो।
भेलामा प्रधानमन्त्री तथा अध्यक्ष ओलीबाहेक अन्य कुन-कुन नेताले सम्बोधन गर्नुहुन्छ त भन्ने नेपालखबरको जिज्ञासमा प्रेस सल्लाहकार थापाले भने, ‘प्रधानमन्त्रीज्यूले विशेष सम्बोधन गर्नुहुन्छ, अन्य नेताबारे मलाई थाहा भएन, पछि तय होला।’
गत पुस ५ गते संसद् विघटन गरेयता नेकपा ओली र प्रचण्ड-नेपाल दुई समूहमा विभाजन भएको छ। त्यही दिनदेखि दुवैले अलग-अलग कार्यक्रम गरिरहेका छन्। साथै दुवै समूहले आफू नै आधिकारिक नेकपा भएको दाबी गरिरहेका छन्।
ओली समूह प्रतिनिधि सभा विघटन जायज ठहर्याउने कसरतमा लागेकाे छ भने प्रचण्ड-नेपाल पक्ष ओलीले असंवैधानिक कदम चालेको भन्दै देशव्यापी आन्दोलनमा हाेमिएकाे छ।

प्रतिक्रिया