प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगसँग पार्टी एकता र त्यसपछि बुझाएका सबै कागजात माग गरेको छ।
सोमबार निर्वाचन आयोग पुगेर अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले २०७५ जेठ ३ गते नेकपा दल दर्ता गर्दा बुझाएका र त्यसपछि अद्यावधिक गरिएका सबै कागजात माग गरेका हुन्।
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनमा परेको रिटको अन्तिम सुनुवाई नगरेसम्म कुनै पनि निर्वाचनको कार्यक्रम अघि नबढाउन आयोगलाई सुझाव दिएको छलफलमा सहभागी स्थायी समिति सदस्य राजेन्द्र पाण्डेले जानकारी दिए।
‘निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासँग भएको छलफलमा नेकपा एकता गर्दाखेरी पेश गरिएका सबै डकुमेन्ट माग गरिएको छ’, नेता पाण्डेले भने, ‘प्रतिनिधि सभा विघटनमा सर्वोच्च अदालतमा परेको रिटको अन्तिम फैसला नभएसम्म कुनै गतिविधि नगर्न सुझाब पनि दिइएको छ।’
प्रचण्ड–नेपालले आयोगलाई आवश्यक भएका सबै डकुमेन्ट उपलब्ध गराउन तयार भएको भन्दै पार्टीको आधिकारिकताको टुंगो छिटो लगाउन पनि आग्रह गरेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै नयाँ निर्वाचनको मिति घोषणा गरेपछि नेकपा विभाजन भएको छ। नेकपाकै नाममा दुई पार्टी रहेको र एउटाको नेतृत्व प्रधानमन्त्री ओली र अर्को पार्टीको नेतृत्व प्रचण्ड–नेपालले गर्दै आएका छन्।
दुवै समूहले आफू आधिकारिक भएको दावी गर्दै गरिरहेका छन्। प्रचण्ड–नेपाल समूहले २९५ केन्द्रीय सदस्य हस्ताक्षर निर्वाचन आयोगमा बुझाउँदै ३१५ केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको दावी गरेको छ।
प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले प्रधानमन्त्री ओलीको कदमविरुद्ध सडक संघर्ष गरिरहेको छ।

प्रतिक्रिया