संघीय संसदको उपल्लो सदन राष्ट्रिय सभाको हिउँदे अधिवेशन आज आइतबारबाट अन्त्य गरिएको छ।
सरकारले आज बसेको मन्त्रिपरिषद्को बैठकबाट गरेको सिफारिशका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिवेशनको अन्त्य गरिएको हो।
पुस १७ गतेबाट सुरु भएको सो अधिवेशन १० दिनमात्र चलेर बन्द गरिएको छ।
यो बीचमा सो सदनको ४ वटा मात्र बैठक बसेका थिए भने सो क्रममा ७ घण्टा ५ मिनेट सभामा व्यतीत भएको संसद सचिवालयले जनाएको छ।
राष्ट्रिय सभाको यो अधिवेशनमा सरकारले ७ वटा अध्यादेश पेस गरेको थियो।
संसद सचिवालयका अनुसार सातौँ अधिवेशन अवधिमा सभाबाट सम्पादन गरिएका मुख्य–मुख्य काम कारवाहीको यस्तो छ विवरणः
संघीय संसद, राष्ट्रिय सभाको सातौँ अधिवेशनको पहिलो बैठक मिति २०७७ साल पौष १७ गते शुक्रबार अपरान्ह ४ः०० बजे प्रारम्भ भई २०७७ साल पौष २६ गते आइतबारसम्म जम्मा १० दिन चालू रह्यो।
यस अवधिमा बैठक बसेका ४ दिनहरूमा ४ वटा बैठक बसी ७ घण्टा ५ मिनेट सभाको काममा व्यतीत भयो।
यस अधिवेशन अवधिमा सभामा देहाय बमोजिमका ७ वटा अध्यादेश पेस भएः
– संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७
– तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७
– नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७७
– सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७
– औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७
– यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७
– फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७
अधिवेशन अवधिमा सभामा उठेका एवं समसामयिक विषयमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले सभामा आइतबार आफ्ना धारणा राखेका थिए।
त्यसैगरी सभा अध्यक्षबाट जारी भएको राष्ट्रिय सभाका समितिहरूको गठन सम्बन्धी आदेश, २०७७ सभामा पेस हुँदा सर्वसम्मतिबाट अनुमोदन भएको थियो।
सभाले बामदेव गौतमलाई राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिमा मनोनयन गर्यो।
यसै अधिवेशन अवधिमा मधेशी आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ र थारू आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ सभासमक्ष पेस गरियाे।
दिगो विकास तथा सुशासन समितिले दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७६/०७७ र विधायन व्यवस्थापन समितिले विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन २०७६/०७७ सभासमक्ष पेस गरियो।
प्रतिनिधि सभा सदस्यद्वय सानु सिवा र सूर्यबहादुर के.सी., राष्ट्रिय सभाका पूर्व सदस्यत्रय दिपक बहादुर गुरुङ, इन्द्रहाङ्ग लिम्बू र राममान श्रेष्ठ, संविधानसभा सदस्यद्वय भिमप्रसाद गौतम र मानपुर चौधरी र प्रतिनिधि सभाका पूर्व सदस्यद्वय ओमकारप्रसाद गौचन र बीरबहादुर लामा एवं २०६३/६४ को अन्तरिम व्यवस्थापिका–संसदका पूर्व सदस्य कमानसिं लामाको निधन भएकोमा शोक प्रस्तावहरू पारित गरिएका थिए।
यो पनि:
राष्ट्रिय सभाको अधिवेशन पनि आजैबाट अन्त्य गर्ने सरकारको निर्णय
Shares

प्रतिक्रिया