प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नाे सरकार नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार नै रहेको दाबी गरेका छन्।
आज राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद रमेश जंग रायमाझीले प्रधानमन्त्री ओलीलाई यो सरकार संविधानको धारा ७६ १ अनुसार गठन नभएको बताएपछि प्रधानमन्त्रीले सोही धाराअनुसार सरकार रहेको जिकिर गरेका हुन्।
सांसद रायमाझीले संविधानको किताब देखाउँदै ओलीलाई सोधेका थिए, ‘यो नेपालको संविधान हो, तपाईंले संविधानको धारा ७६ १ अनुसार यो सरकार गठन भएको बताउनुभयो, त्यो होइन। पढ्नुहोस्, यो सरकार धारा ७६ अनुसार बनेको हो। दुई पार्टी मिलेर सरकार बनेको हो।’
उनले ओलीलाई संविधान पढ्न सुझाव दिएका थिए।
त्यसको जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘यो सरकार संविधानको धारा ७६ को उपधारा १ अनुसार बनेको होइन, अँ, फागुन ३ गते बन्दा त्यसरुपमा बनेको होइन। फागुन १४ गते विस्तार हुँदा त्यसरुपमा विस्तार भएको होइन। चैत २ गते पूर्णता प्राप्त गर्दा पनि त्यसरुपमा भएको होइन। त्यतिबेला २ वा २ भन्दा बढी सरकारकै हिसाबले थियो। तर जब दुई पार्टी मिलेर एउटै संसदीय दलको नेता छानेर, दुई पार्टी मिलेर एकीकरण भएर एउटै पार्टी बनेर बहुमतको सरकार बनायौँ। त्यो सरकार बहुमतको सरकारमा परिणत भयो। संविधानको धारा ७६ को उपधारा १ को सरकारमा परिणत भयो।’
प्रधानमन्त्री ओलीले तर्क गर्दै भने, ‘एउटा फुटबल खेलाडी भइसकेपछि पुरानो इतिहास सम्झेर तँ त पोखरामा खेल्थिस् नि भनेर हुन्छ? हुँदैन। फुटबल खेलाडी भइसक्यो, जमाना परिवर्तन भइसक्यो। दलहरु मिलेर अर्कै परिस्थिति बनिसक्यो, एक दलको बहुमतको सरकार बनिसक्यो। तब पुराना कुरा गरेर हुँदैन।’

प्रतिक्रिया