प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले पाँच वर्ष सरकार चलोस् भन्ने जनताको इच्छा रहेको बताएका छन्।
आइतबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै उनले सरकारलाई काम गर्न नदिएका कारण ५ वर्ष चल्नु पर्ने प्रतिनिधि सभा त्यसअघि नै विघटन गर्नुपरेको बताए।
‘जनताको इच्छा थियो पाँच वर्ष सरकार टिकोस्, पाँच वर्ष सरकार टिकोस् भन्ने हो, सरकार परिवर्तन होस् भन्ने होइन जनताको इच्छा’, उनले भने।
उनले सरकारविरुद्ध अनेक षड्यन्त्र भएको बहुमतलाई टुक्राउने, खण्डित गर्ने र ध्वस्त पार्ने काम भएको र संविधान र गणतन्त्र गै गलत छ भन्ने दिशातर्फ जान थालेको आरोप लगाए।
‘हामीले सोचेका थियौँ प्रतिनिधि सभा पाँच वर्ष चल्ने छ र यसमा विनाविग्रह प्रतिनिधि सभाले आफूलाई लगातार देश र जनताको सेवामा संविधान, गणतान्त्रको रक्षा र कार्यान्वय सन्दर्भमा विना व्यवधान काम गर्न पाउने छ र हामी त्यसरी काम गरेर अगाडि जाने छौँ भन्ने सोचेका थियौँ’, उनले भने, ‘तर केही पनि काम हुन दिइएन।'
उनले जनविश्वासअनुसार आफूलाई काम गर्न नदिएको, सधैँ झमेला सिर्जना गर्ने, व्यक्तिगत आकांक्षाका कारण देशलाई अघि बढ्न नदिएको उनले बताए।
उनले स्वस्थ र अलोकतान्त्रिक गठजोड हुन थालेको र देशलाई पुनः अस्थिरतातर्फ धकेल्न खोजेको बताए।

प्रतिक्रिया