राजनीति


प्रतिनिधि सभा पुनःस्थापना गर्नु भनेकै ओलीलाई सजाय दिनु हो : भुसाल

प्रतिनिधि सभा पुनःस्थापना गर्नु भनेकै ओलीलाई सजाय दिनु हो : भुसाल

प्रकाश न्यौपाने
पुस २२, २०७७ बुधबार ११:४८,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य घनश्याम भुसालले जनता, पार्टी र लोकतन्त्रसँग गरिएको सम्झौताविरुद्ध अगाडि बढेकाका कारण प्रधानमन्त्री केपी ओली सजायको भागिदार भएको बताएका छन्।

प्रेस संगठन नेपाल रुपन्देहीले बुधबार तिलोत्तमाको आयोजना गरेको ‘प्रतिनिधिसभा विघटन : असंवैधानिक कदम’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेता भुसालले संसद पुनःस्थापना गर्नु भनेकै ओलीलाई सजाय दिएको बताए।

‘हिजो जसरी राष्ट्र एकीकृत भएर हामीले संविधान जारी गरेका थियौं, त्यसरी नै आज राष्ट्रलाई एकीकृत बनाएर संविधानको रक्षा गर्नुपर्छ’, उनले भने, ‘भारतले नाकाबन्दी गर्दा लडेको, नयाँ नक्सा प्रकाशित गरेको जस्ता सन्दर्भ जोडेर प्रतिनिधिसभा विघटन ठीक हो भन्ने पुष्टि गर्न खोजिए पनि संविधानमा प्रष्ट भएकाले संसद विघटन गर्न पाइँदैन।’

पूर्व कृषि मन्त्रीसमेत रहेका भुसालले प्रतिनिधि सभा पुनःस्थापना हुन ढिलो भए त्यसले ठूलो क्षति गर्ने बताए।‘बढी क्षति हुनु अगावै नै संसद पुनस्र्थापना गर्नुपर्छ। मुलुक, लोकतन्त्र र संघीयताको रक्षा गर्न पनि संसद पुनःस्थापना हुनुपर्छ’, उनले भने।

लोकतन्त्र स्थापनामा पत्रकारिता क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउँदै उनले पत्रकार सत्यको दूत बन्न नसके पत्रकारितासमेत रहन नसक्ने उल्लेख गरे।

नेकपा लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा रुपन्देही जिल्ला सचिव नारायण जिसीले ओलीले निरकुंश शैलीमा प्रतिनिधिसभा विघटन गराएको बताउँदै त्यसलाई कुनै पनि हालतमा पुनःस्थापना गर्नुपर्ने बताए।

तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले संसद विघटन असंवैधानिक कदम भएको र संविधानमा नभएको अधिकार प्रधानमन्त्री ओलीले प्रयोग गरेको आरोप लगाए।

नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष तथा संविधानसभा सदस्य विनोद पहाडीले संविधान जोगाउन लाग्नुपर्ने बताउँदै रक्षकबाटै संविधानमाथि घात भएको बता ।

राष्ट्रिय समाचार समिति (रासस)का पूर्व केन्द्रीय अध्यक्ष अधिवक्ता बालकृष्ण चापागाईंले संसद विघटनजस्तो गलत कदमको समर्थन गर्नु आत्मघाती भएको बताउँदै उनले ओलीले चालेको कदम खतरनाक भएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .