प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश २ को नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डललाई पदबाट हटाएको छ।
मंगलबार बसेको प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकले मण्डललाई दलको नेताबाट हटाएको हो।
प्रदेश २ मा नेकपाका ३२ जना सांसद छन्। नेकपामा आएको विभाजनसँगै १९ जना सांसद प्रचण्ड–नेपाल समूहमा लागेका छन्।
संसदीय दलको नेता रहेका मण्डले प्रधानमन्त्री ओली समूहमा छन्। उनी उक्त समूहको प्रदेश २ का इन्चार्ज समेत हुन्।
मण्डललाई कारबाही गरी प्रचण्ड नेपाल समूहले दलको नयाँ नेतामा प्रदेश सांसद सत्रुधन महतोलाई चयन गरेको छ।
संसदीय दलको बैठकले आफूलाई सर्वसम्मत रुपमा नेता चयन गरेको महतोले बताए।
‘आज बसेको संसदीय दलको बैठकले सत्यनारायण मण्डललाई हटाइ मलाई सर्वसम्मत रुपले दलको नेता चयन गरेको छ’, उनले भने।
महतो पूर्व एमालेबाट निर्वाचित प्रदेश सांसद हुन्।
महतोका अनुसार हस्ताक्षर गर्ने १८ सांसद र एक जना सचेतक गरी १९ प्रदेश सांसद अविश्वासको प्रस्ताव लिएर मंगलबार सभामुख सरोज यादव कहाँ पुगेका थिए।
मण्डल असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई समर्थन गरेको भन्दै प्रचण्ड–नेपाल समूहले उनलाई कारबाही गरेको जनाएको छ।

प्रतिक्रिया