हालै सम्पन्न राष्ट्रपतिको चुनावमा धाँधली भएको आरोप लगाउँदै जो बाइडेनको जित अस्वीकार गरिरहेका अमेरिकाका वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प आफूले चाहिँ एक निर्वाचन अधिकारीलाई आफूलाई भोट दिलाइदिन आग्रह गरेको खुलासा भएको छ।
बीबीसीका अनुसार जर्जिया राज्यका शीर्ष निर्वाचन अधिकारीलाई आफूलाई जिताउन आवश्यक मतको बन्दोबस्त गरिदिन भनेर आग्रह गरिरहेको फोन रेकर्डिङ सार्वजनिक भएको हो।
वासिङ्टन पोस्टले सार्वजनिक गरेको फोन रेकर्डिङमा ट्रम्पले रिपब्लिकन सेक्रेटरी अफ स्टेट ब्रेड रेफनस्पर्जरसँग भनिरहेका छन्, ‘मलाई बस्, ११,७८० भोट मात्रै चाहियो।’
रेफनस्पर्जरले भने फाेनमा ट्रम्पलाई जर्जियाको नतिजा सही भएको बताइरहेका छन्।
जर्जियामा डेमोक्रेट पार्टीका उम्मेदवार बाइडेनले चुनाव जितेका छन्। उनले ३०६ इलेक्टोरल भोट प्राप्त गरेका छन् भने ट्रम्पले २३२ भोट मात्र। तर ट्रम्पले धाँधली भएकाे आरोप लगाइरहेका थिए।
अमेरिकाका सबै ५० राज्यले मतपरिणाम प्रमाणित गरिसकेका छन्। यस क्रममा कतिपय प्रान्तमा मत गणना दाेहाेर्याइएकाे पनि थियाे।
ट्रम्पले धाँधली भएकाे दाबी गर्दै दर्ता गराएका ६० निवेदन अमेरिकाका अदालतले रद्द गरिसकेका छन्। अब जो बाइडेनले यही जनवरी २० मा अमेरिकाकाे राष्ट्रपतिका रुपमा शपथ ग्रहण गर्नेछन्।

प्रतिक्रिया