नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राष्ट्रिय सभाका संसदीय दलका नेता दीनानाथ शर्माले आफ्नो पार्टीको विभाजित मनस्थिति राष्ट्रिय सभामा पर्ने बताएका छन्।
उनले प्रतिनिधि सभा विघटन भएको र नेकपा विभाजित भएको हुँदा ती राष्ट्रिय राजनीतिका बाछिटा राष्ट्रिय सभामा पनि पर्ने उनले बताएका छन्।
शुक्रबारबाट सुरु भएको राष्ट्रिय सभाको अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन्।
‘हामी विभाजित छौं, हाम्रा सोच विभाजित छन्, विभाजित मनबाट व्यक्त हुने विचार भद्र रुपले यहाँ राख्नेछौं,’ उनले भने।
उनले यतिबेला प्रतिनिधि सभा नभएको हुँदा राष्ट्रिय सभामा जनताका सरोकारका विषय र राजनीतिक परिदृश्यमा देखिएका घटना सभामा शालिनरुपमा व्यक्त हुने बताए।
प्रतिनिधि सभा नभएको बेला सरकारका काम कारवाहीको निगरानी पनि राष्ट्रिय सभामा गरिने उनले बताए।
‘पार्टी विभाजन भएको अवस्था सुखद छैन, सत्तारुढ दल फुटेको राम्रो हुँदैन, पार्टी टुट्यो भने सिष्टममा प्रणालीमा असर पर्छ,’ उनले भने, ‘जनताद्वारा निर्वाचित जनप्रतिनिधि सभा दलको आन्तरिक झगडाका कारण सहिद हुनपुग्यो यसरी आन्तरिक झगडाका कारण जनप्रतिनिधि संस्थामा असर पर्नु राम्रो होइन।’
Shares

प्रतिक्रिया