ad ad

राजनीति


प्रतिनिधिसभा विघटन भएको अवस्थामा आजदेखि बस्दैछ राष्ट्रियसभा, यस्ता छन् कार्यसूची

प्रतिनिधिसभा विघटन भएको अवस्थामा आजदेखि बस्दैछ राष्ट्रियसभा, यस्ता छन् कार्यसूची

नेपालखबर
पुस १७, २०७७ शुक्रबार १:५९,

प्रतिनिधिसभा विघटन भएको अवस्थामा आजदेखि राष्ट्रियसभाको हिउँदे अधिवेशन सुरु हुँदैछ।

अधिवेशनबीचको अन्तर छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्थाअनुसार आज (शुक्रबार) देखि राष्ट्रियसभाको अधिवेशन सुरु हुन लागेको हो। दिउँसो ४ बजेबाट अधिवेशन सुरु हुने संसद सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार कोरोना जोखिम न्यूनीकरणका लागि सांसदबीच दुरी कायम गरेर अधिवेशन बस्ने छ। अघिल्लो अधिवेशनमा कायम रहेको आसनको व्यवस्थालाई थप व्यवस्थित बनाइएको छ।

बिहीबार बसेको राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले सभाको सम्भावित कार्यसूचीसमेत सार्वजनिक गरेको छ। सार्वजनिक सम्भावित कार्यसूची अनुसार अधिवेशन प्रारम्भबारे राष्ट्रपति कार्यालयको पत्रबारे जानकारी गराइनेछ। त्यसैगरी मन्त्रिपरिषद् पुनर्गठनबारे राष्ट्रपति कार्यालयको पत्रको जानकारी पनि सभामा गराउने कार्यसूची छ।

त्यसैगरी बैठकमा अधिवेशन नचलेको अवस्थामा बाधा अड्काउबाट भएको समिति गठनको आदेश पनि अनुमोदनका लागि सदनमा पेस गरिने छ। यस्तैै अधिवेशन प्रारम्भका अवसरमा संसदीयदलका नेताहरूले सम्बोधन गर्ने पनि सम्भावित कार्यसूचीमा उल्लेख छ। त्यस्तै अधिवेशन नभएको अवधिमा सरकारको सिफारिसमा विभिन्न समयमा जारी भएका सातवटा अध्यादेश पनि पेस हुनेछन्।

यसबीचमा तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमन, संवैधानिक परिषद् काम, कर्तव्य र अधिकारसम्बन्धी पहिलो संशोधन अध्यादेश, नेपाल प्रहरी तथा प्रदेश प्रहरीको कार्यसञ्चालन तथा सुपरिवेक्षणसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश जारी भएका थिए।

दुई वर्ष कार्यकाल बाँकी हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि बस्न लागेको राष्ट्रिय सभाको बैठकलाई चासोको रुपमा हेरिएको छ। प्रतिनिधिसभा विघटनाको विषयलाई राष्ट्रियसभामा उठाउने तयारी सत्तापक्ष र विपक्षी दलका सांसदले गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .