ad ad

राजनीति


प्रदेश १ का मुख्यमन्त्री राईले गरे १५ सांसद निलम्बन

प्रदेश १ का मुख्यमन्त्री राईले गरे १५ सांसद निलम्बन

नेपालखबर
पुस १६, २०७७ बिहिबार ९:२९,

 प्रचण्ड–नेपाल समूहले नेकपा प्रदेश १ को दलको नेताबाट हटाएका मुख्यमन्त्री शेरधन राईले सो समूहका १५ सांसदलाई निलम्बन गरेका छन्।

दलको नेतालाई थाहै नदिइ मुख्यमन्त्रीवरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको, पत्रमा हस्ताक्षर गरेको भन्दै १५ सांसदलाई तीन महिनाका लागि निलम्बन गरेको मुख्यमन्त्री राईले जानकारी दिए।

राईले दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेलाई किन कारबाही नगर्ने भनी स्पष्टीकरण सोधेको र जवाफ नदिएपछि कारबाही गरेको राईले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै जानकारी दिएका छन्।

प्रमुख सचेकत बुध्दिकुमार राजभण्डारीले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने र दर्ता गर्नेमध्येका १९ सदस्यलाई स्पष्टीकरण सोधेको र १५ जनाले कुनै जवाफ नदिएका कारण तीन महिनाका लागि निलम्बन गरिएको बताए।

‘हामीले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने र हस्ताक्षर गर्ने १९ माननीयलाई स्पष्टीकरण सोधेका थियौँ, ४ जनाले हामी जवाफ दिन्छौँ भन्नु भयो, १५ जना कुनै सम्पर्कमा आउनु भएन’, नेपालखबरसँग प्रमुख सचेतक राजभण्डारीले भने, ‘त्यसैले उहाँहरुलाई तीन महिनाका लागि निलम्बन गरेका हौँ।’

निलम्बनमा पर्नेमा प्रदेश सांसद् भीमप्रसाद आर्चाय, जीवन घिमिरे, इन्द्रबहादुर आङबो, विजयकुमार विश्वास, सावित्राकुमारी रेग्मी, उपेन्द्र घिमिरे, लीलावल्लभ अधिकारी, राजेन्द्रकुमार राई, यशोधा अधिकारी, लछुमन तिवारी, मोहन कुमार खड्का, कुलप्रसाद साम्बा, धीरेन्द्र शर्मा, टंक आङबुहाङ लिम्बु र कुसुम कुमारी श्रेष्ठ रहेको उनले जानकारी दिए।

 अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तुलसीप्रसाद न्यौपाने, उषाकला राई, झलकवहादुर मगर र रामकुमार राईले भने जवाफ दिन्छौँ भनेका कारण तत्काल कारबाही नगरिएको उनले बताए। ‘चार जान माननीयले हामी जवाफ दिन्छौँ भनेका कारण उहाँहरुलाई कारबाही गरिएको छैन’, उनले भने।

नेकपा प्रचण्ड–नेपाल समूहका ३७ सांसदले आइतबार मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।

नेकपामा केन्द्रमा देखिएको विवादका कारण शनिबार मुख्यमन्त्री राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेको भोलिपल्टै सो समूहका तीन मन्त्रीले राजीनामा दिनुका साथै मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।

बुधबार बसेको प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकले दलको नेताबाट राई लाई हटाएर भीमप्रसाद आचार्यलाई नयाँ नेता चयन गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .