प्रचण्ड–नेपाल नेतृत्वको नेकपा अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाह र अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृत्ति एउटै देखिएको बताए।
नेपालले पूर्वराजा ज्ञानेन्द्रले त्यतिबेला राजाको प्रतिगमनविरुद्ध आन्दोलन गर्दा आफू र तत्कालीन नेपाली कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई एकआपसमा विवादमा पार्ने काम गर्ने गरेको स्मरण गर्दै अहिले ओलीले पनि नेताहरुबीच फाटो ल्याउने गरेको बताए।
प्रधानमन्त्री ओलीद्वारा गरिएको प्रतिनिधि सभा विघटनको विरुद्ध आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन्।
‘ज्ञानेन्द्रले मसँग गिरिजा विदेशको दलाल हो, यसले देश सकायो भन्ने अनि फेरि गिरिजालाई बोलाएर कम्युनिष्टले देश सकायो, माधव नेपाल ठीक छैन भन्ने गर्थे,’ नेपालले भने, ‘अनि हामी दुबैजना भेट हुँदा पोल खोलाखोल हुन्थ्यो। अनि पछि हामीले त्यो कुरा बुझेर मिलेर आन्दोलन गरेका थियौं।’
नेपालले अहिले ओलीले प्रचण्ड, वामदेव गौतम र आफूलगायतका नेताहरुलाई छुट्टाछुट्टै भेटेर यस्तै फाटो ल्याउन खोजेको बताए।
Shares

प्रतिक्रिया