नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले अर्को समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली कम्युनिष्ट नै नभएको टिप्पणी गरेका छन्।
बिहीबार बल्खुस्थित निर्माणाधिन पार्टी कार्यालयमा तत्कालिन नेकपा (एमाले) का महासचिव मदन भण्डारीको शालिकमा माल्यार्पण गर्दै खनालले पार्टी भित्रको मतभिन्नतालाई नीति र विधि अनुरुप हल गर्न नमानेको बताए।
खनालले प्रधानमन्त्री प्रधानमन्त्रीले पार्टीको विधि र विधान नमानेको र आन्तरिक मतभेदका नाममा संसद विघटन गरेर अपराध गरेको टिप्पणी गरे।
‘मतभिन्नता पार्टीभित्र जहिले पनि हुन्छ। मतभिन्नता हुनु सामान्य कुरा हो। मतभिन्नतालाई नीति र विधि अनुरुप सञ्चालन गर्नुपर्छ र समस्याको समाधान गर्नुपर्छ’ खनालले भने, ‘तर कमरेड केपी ओली वास्तवमा कम्युनिष्ट नै भईसक्नुभएको रहेनछ। उहाँले पार्टीका विधि नै मान्नुभएन। पालना गर्नुभएन। अनुशासन पनि मान्नुभएन।’
उनले पार्टी भित्रको मतभेदका कारण संसद विघटन गरेर ओलीले ‘अपराध’ गरेको बताए।
उनले भने, ‘पार्टी भित्रका मतभेदको नाउँमा संसदको विघटन गर्नुभयो। यो अत्यन्तै ठूलो अपराधको कुरा हो। संविधान विरोधी अपराध हो। लोकतन्त्र विरोधी अपराध हो। यो जनादेशको विरुद्धमा छ। जनताको भावना विरुद्ध छ। राष्ट्रहित विरुद्ध छ।’
यस्तै खनालले आफ्नो समूह नै वास्तविक नेकपा भएको दाबी पनि गरे। आफूहरु नै आधिकारीक भएको भन्दै नयाँ ढंगले एकतावद्ध गर्ने र पुर्नगठन गर्ने उनले बताए।
Shares

प्रतिक्रिया