राजनीति


आफू वैधानिक नेकपा भएको दावी गर्दै निर्वाचन आयोगमा प्रचण्ड–नेपाल समूहले के–के बुझायो?

आफू वैधानिक नेकपा भएको दावी गर्दै निर्वाचन आयोगमा प्रचण्ड–नेपाल समूहले के–के बुझायो?

नेपालखबर
पुस ८, २०७७ बुधबार ९:३६,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका नेताहरु बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोग पुगेको छन्।

बुधबार दिउँसो प्रचण्ड–नेपाल समूहका नेताहरु सुरेन्द्र पाण्डे, लीलामणि पोखरेल र पूर्वमहान्यायाधीवक्ता मुक्ति प्रधान आफूहरु नै वैधानिक नेकपा भएको दावी गर्दै प्रमाणसहित निर्वाचन आयोगको कार्यालय पुगेका हुन्।

उनीहरुले मंगलबारको केन्द्रीय समिति बैठकको निर्णय, उपस्थित संख्या, ओलीलाई बैठक बोलाउन कात्तिकमा प्रचण्डसहितका ५ नेताले लेखेको पत्र, त्यसको जवाफमा ओलीले लेखेको १० पृष्ठको पत्र, प्रचण्डले कात्तिक २८ गते सचिवालयमा पेश गरेको १९ पृष्ठको राजनीतिक प्रस्ताव, त्यसको जवाफमा ओलीले मंसिर १३ गते लेखेको ३८ पृष्ठको प्रतिवेदन निर्वाचन आयोगमा बुझाएको छ।

त्यस्तै मंसिर २१ गतेको स्थायी समिति बैठकलाई सम्बोधन गर्दै ओलीले लेखेको पत्र, केन्द्रीय सदस्यले बैठकमा उपस्थित हुन नसकी पठाएको पत्र, इमेल, नेकपाको अन्तरिम विधान, अन्तरपार्टी निर्देशन १ र ५ तथा विभिन्न समयमा स्थायी समितिले गरेको निर्णय समेत निर्वाचन आयोगमा बुझाइएको छ।

वैधानिकताका लागि चाहिने सबै प्रमाणहरु आफूहरुले आयोगलाई बुझाएको र आयोगले कानुनअनुसार काम गर्नेमा विश्वस्त रहेको नेता पोखरेलले बताए।

‘हामीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई बुझाएका छौं’, दर्ता गरेपछि नेता लीलामणि पोखरेलले भने, ‘उहाँले संविधान, कानुन, नियम, पार्टीको नियम हेरेर कुनै पनि अन्याय नगरी निर्णय गर्छौं भन्नुभयो।’

यसअघि आयोगको कार्यालय हिँडेको टोली केही प्रक्रिया पूरा गर्न बाँकी रहेको भन्दै बीचबाटै फर्किएका कारण केही ढिला भएको उनले जानकारी दिए।

 नेकपाको ४४६ केन्द्रीय सदस्यमध्ये ४४१ बहाल रहेको र त्यसमा पनि ३१५ केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको प्रचण्ड नेपाल समूहले दावी गरेको छ।

यसअघि सोमबारै स्थायी समिति सदस्य पोखरेलले निर्वाचन आयोग पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाइएको र केन्द्रीय सदस्यको बहुमत प्रचण्ड–नेपालका पक्षमा रहेको जानकारी दिएका थिए।

त्यस्तै सोमबार नै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहले पनि पार्टी केन्द्रीय समितिमा हेरफेर गरेको जानकारी आयोगलाई दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad