नेकपाको स्थायी समिति बैठकले केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाउने निर्णय गरेको छ।
आइतबार दिउँसो बालुवाटारमा बसेको बैठकले प्रतिनिधि सभा विघटन गर्ने ओलीलाई अध्यक्षबाट अनुशासनको कारबाही गरी हटाउने निर्णय गरेको हो।
यो निर्णयलाई पुस ७ गते बस्ने केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने एक नेताले जानकारी दिए।
आइतबार प्रधानमन्त्री ओलीले संसद विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेका थिए। सोही सिफारिस बमोजिम राष्ट्रपतिले प्रतिनिधि सभा भंग गर्दै ताजा जनमतका लागि बैशाख १७ र २७ गते निर्वाचन गर्न मिति तोकेकी छन्।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको स्थायी समितिको बैठकमा ओली पक्षीय नेताहरू त उपस्थित थिएनन् नै पूर्वमाओवादी पक्षका पाँच जना नेता पनि अनुपस्थित भएका छन्। बैठकले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम प्रतिगामी भएको ठहर गरेको छ।
आइतबारको स्थायी समिति बैठकमा पूर्वमाओवादी केन्द्रका नेता गृहमन्त्री रामबहादुर थापासहित पाँच स्थायी समिति सदस्य अनुपस्थित भएका हुन्।
गृहमन्त्री थापा, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा बैठकमा अनुपस्थित भएका हुन्। जसमध्ये गृहमन्त्री थापा राष्ट्रिय सभाका सांसद हुन् भने रायमाझी र भट्ट प्रतिनिधि सभाका सांसद थिए। मणि थापा स्थायी समिति सदस्य मात्र हुन्।
गजुरेलले भने प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेका बेला आफू काठमाडौं बाहिर रहेका कारण सहभागी हुन नसकेको दाबी गरे। तर बैठकलगत्तै काठमाडौंमै हुनुले उनले बैठक छल्न खोजेको बुझिएको छ।
‘म बाहिर थिएँ, भरखरै काठमाडौं आइपुगें, आजको बैठकमा जान सकिनँ,’ गजुरेलले नेपालखबरसँग भने।
पूर्वमाओवादी पक्षका एक नेताका अनुसार प्रधानमन्त्री ओलीलाई साथ दिँदै गृहमन्त्री थापासहित उनीहरु प्रचण्डले मात्र अध्यक्षता गरेको बैठकमा उपस्थित नभएका हुन्। पछिल्लो समय थापासँगै रायमाझी, गजुरेल, भट्ट र मणि थापा पनि ओलीको लाइनमा उभिँदै आएका थिए।
Shares

प्रतिक्रिया