प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा संवैधानिक परिषद्को बैठकमा नजाने भएका छन्।
मंगलबार बिहान बसेको परिषदको बैठकमा गणपुरक संख्या नपुगेपछि स्थगित भएको थियो। बैठक साँझ पुनः बस्ने भनिए पनि सरकारले दिउँसो परिषदसम्बन्धी अध्यादेश ल्याएपछि साँझको बैठकमा कांग्रेस सहभागी नहुने भएको हो।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सभापति एवं दलका नेता देउवा संवैधानिक परिषद बैठकमा सहभागी नहुने बताए।
‘सभापति देउवा संवैधानिक परिषदको बैठकमा सहभागी हुनुहुन्न’, नेपालखबरसँग शर्माले भने। उनले अध्यादेश ल्याउनु असंवैधानिक र अलोकतान्त्रिक कदम भएको भन्दै त्यस्तो कार्यमा काग्रेसको साथ नहुने बताए।
कांग्रेसले संसद बैठक माग गरिरहेको ल्याएको अध्यादेश कांग्रेसलाई अस्वीकार्य हुने उनले बताए।
यस विषयमा पार्टीभित्र थप छलफल हुने प्रवक्ता शर्मा जानकारी दिए।
मंगलबार बिहानको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटा सहभागी भएका थिएनन्। उपसभामुख रिक्त रहेको कारण संवैधानिक परिषदमा हाल कायम रहेका पाँचै जना उपस्थित हुनुपर्ने हुन्छ।
तर सरकारले मंगलबार दिउँसो अध्यक्षसहित बहुमत सदस्यले निर्णय गर्न सक्नेगरी अध्यादेश ल्याएको छ।
अध्यादेश अनुसार पनि बैठकका लागिग बहुमत सदस्यको आवश्यकता पर्छ। प्रतिपक्षी दलको नेता देउवा सहभागी नहुने भएपछि संवैधानिक परिषदको बैठक नै अन्यौलमा परेको बताइएको छ।
Shares

प्रतिक्रिया