राजनीति


राष्ट्रपतिलाई गगन थापाको चुनौती : सक्ने भए काठमाडौंबाट चुनाव लड्नुहोस्

राष्ट्रपतिलाई गगन थापाको चुनौती : सक्ने भए काठमाडौंबाट चुनाव लड्नुहोस्

नेपालखबर
मंसिर २९, २०७७ सोमबार ९:११,

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारी संरक्षण गरेको आरोप लगाएका छन्।

कैलालीको धनगढीमा सोमबार आयोजित विरोध सभालाई सम्बोधन गरिरहेका नेता थापाले सरकारप्रति तीव्र आक्रोश व्यक्त गर्दै प्रधानमन्त्री ओलीलाई भ्रष्टाचारको संरक्षण गरेको आरोप लगाएका हुन्।

‘भ्रष्टाचारी हेर्न कहीँ जान पर्दैन, बालुवाटार गए पुग्छ,’ गगनले भने, ‘अन्त जानै पर्दैन सिंहदरबार गए पुग्छ किनभने प्रधानमन्त्रीको वरिपरीकै व्यक्तिहरु भ्रष्टाचारीको संरक्षणमा लागेका छन्।’

उनले कोरोनाको महासंकटमा सरकारले जनतालाई कोरोनाबाट पनि जोगाउन नसकेको र कृषकालाई मल पनि दिन नसकेको बताए।

‘नांगै हिड्नुभएका प्रधानमन्त्रीलाई जोगाउँदा प्रचण्ड र माधव नेपाल पनि अर्धनांगो भए,’ थापाले भने, ‘कमरेडहरु अब निकै ढिलो भयो, जनताले निकै अपेक्षा गरेका थिए, निराश भए।’

थापाले नेकपालाई कम्युनिष्ट पार्टी नै नभई लोभी पापीहरुको समूह भएको आरोप समेत लगाए।

संसदमा दुईतिहाइ बहुमत रहेको, ४ सय भन्दा बढी स्थानीय तहमा सरकार बनाएको र ७ मध्ये ६ वटा प्रदेश जितेको नेकपाको सरकार नालायक सावित भएको दाबी गरे।

‘यो सरकार बाहिर भ्रष्टाचार गर्दिन भन्छ तर, बाइडबडी जहाज खर्लप्पै खान्छ, सेक्युरिटी प्रेसमा भ्रष्टाचार गर्छ र बालुवाटार जग्गा समेत खर्लप्प खान्छ। त्यतिमात्र होइन अहिलेसम्म नभएको बजेटभाषण अघि व्यापारीलाई बोलाएर राजस्वको दर तलमाथि गर्छु भनेर पोस्ने काम गर्छ,’ उनको आरोप थियो।

उनले भने आफ्नै पार्टीलाई लक्षित गर्दै फेरि सत्ताका लागि सिंहदरबार ताक्ने भन्दा जनताका बीचमा जान आग्रह पनि गरे।

‘अब शीतलनिवास, बालुवाटार वा सिंहदरबार हेर्ने होइन, जनताको घर हेर्ने हो, व्याक टू पिपुल (जनताका बीचमा) जाने हो अब,’ उनले भने।

केपी ओली नेतृत्वको सरकारलाई उनले अयोग्य, असक्षम र इतिहासकै भ्रष्ट भएको आरोप लगाए।

‘राजा आऊ, देश बचाऊ’ भन्नेहरुलाई उनले भने, २०५९ सालमा राजाकै कारण आन्दोलनामा लाग्नुपरेको बताए।

उनको तर्क थियो– आफैलाई बचाउन नसकेका राजाले कसरी जनतालाई बचाउन सक्छन्?

प्रचण्ड र केपी ओलीको झगडा मिलाउने जिम्मा राष्ट्रपतिको नभएको भन्दै उनले भने, ‘राष्ट्रपति महोदय, आँखा नचक्काइबक्स्योस, हात नलम्काइबक्स्योस।’

उनले सक्ने भए काठमाडौंमा आएर चुनाव लड्न आग्रह गरे। ‘राजा त फाल्यौं, राष्ट्रपति फाल्न हामी सक्छौं,’ थापाले भने।

तर, यो भन्दैमा राजा आउ देश बचाउ भन्न नमिल्ने थापाको भनाइ छ।

‘हिजो पञ्चायतकालमा हाम्रो मुर्ती त बेचेर खाने पन्चेहरुले हाम्रो धर्म र संस्कृति जोगाउँछन्?’ उनले भने, ‘कमजोरी भएका छन्, यसलाई सुधार गर्नुपर्छ तर, लामो समयपछि ल्याएको संघीय गणतान्त्रिक व्यवस्था जोगाऔं’

प्रधानमन्त्रीले कामै गर्न नसकेको हिसावकिताब निर्वाचनमा गर्नुपर्ने तर अहिलेको व्यवस्थाविरुद्ध उत्रनु नहुने उनको भनाइ छ।

थापाले सरकार ठेगानमा नआएसम्म कांग्रेस सडकमा आइराख्ने बताए।

२९ मिनेट भाषण गरेका थापाले सरकार, नेकपा, राजावादीको आन्दोलनदेखि आफ्नै पार्टीबारे बोलेका थिए।

उनले नेपाली कांग्रेसलाई विगतमा गरेको त्रुटी सच्याउने अवसर आएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad