हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सम्बन्धमा अध्ययन गर्न गठित समितिले दुई दिन बिदा उपयुक्त हुने निष्कर्ष निकालेको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईको नेत्तृत्वमा गठित उक्त समितिले अन्तर्राष्ट्रिय मान्यताअनुसार हप्तामा दुई दिन बिदा दिन उपयुक्त हुने निष्कर्षसहितको प्रतिवेदन तयार गरेको हो।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले आन्तरिक पर्यटन प्रवद्र्धन गर्नका लागि दुई दिन बिदा दिने व्यवस्था गर्नु उपयुक्त हुने धारणा राखेका थिए। विश्वका अधिकांश देशमा हप्तामा दुई दिन बिदा दिने व्यवस्था भए पनि नेपालमा पहिला लागू भएर असफल भएको थियो। त्यसको अध्ययन गर्नका लागि मन्त्रालयका सहसचिव भट्टराईको नेतृत्वमा समिति बनेको थियो।
‘हामीले विश्वमा अधिकांश देशको अध्ययन गर्दा हप्तामा दुई दिन बिदादिने व्यवस्था भएको भेटियो,’ समिति संयोजक तथा सहसचिव भट्टराईले भने ‘हाम्रो प्रारम्भिक रिपोर्टले नेपालमा पनि दुई दिन बिदा दिनु उपयुक्त हुने निकर्ष निकालेको छ।’
उनले हप्तामा ४० घण्टा कार्य समय नघट्ने गरी पाँच दिनमात्रै कार्यालय सञ्चालन हुँदा सरकारको धेरै खर्च जोगिने प्रारम्भिक अध्ययनले देखाएको बताए।
‘एकदिन सरकारी कार्यलयमात्रै बन्द हुँदा सवारी इन्धन, पानी, विद्युत लगाएतका क्षेत्रमा हुने खर्च बचत हुने देखाएको छ,’ नेपालखबरसँग कुरा गर्दै सहसचिव भट्टराईले भने।
उनले दुई दिन बिदाको व्यवस्था गर्दा आन्तरिक पर्यटनका गतिविधि बढाउन सकिने र सामाजिक तथा आथिक पक्ष समेत सबल हुने देखिएको बताए।
‘अन्तर्राष्ट्रिय उडान खुले पनि तत्काल विदेशी पर्यटक घुम्न आउने अवस्था देखिँदैन,’ उनले भने ‘हप्तामा दुई दिन बिदा भए एकदिन घरायसी काम गरे पनि अर्को दिन आफ्नो परिवारसहित घुम्न जान सकिने देखिन्छ।’
समितिले तयार पारेको प्रतिवेदनमा १२७ देशको तथ्यांक उपलब्ध भएकामा ११६ देशले हप्तामा दुई दिन बिदादिने देखिएको छ भने ११ देशले १ दिन बिदा दिने गरेका छन्। जसअनुसार एसियामा ८८ प्रतिशत देशमा हप्ताको दुई दिन र १२ प्रतिशत देशले १ दिन बिदादिने व्यवस्था रहेको छ। सार्कमा नेपालबाहेक सबै देशले हप्ताको दुई दिन बिदादिने व्यवस्था रहेको उल्लेख रहेको छ।
त्यसैगरी हप्तामा ४० घण्टा काम लगाउने ८८ देश, ४० घण्टाभन्दा बढी लगाउने ३१ र ४० घण्टाभन्दा कम काम लगाउने ८ देश रहेको प्रतिवेदनमा उल्लेख छ।
‘अधिंकाश देशमा शनिबार र आइतबार बिदा हुनेहुँदा नेपालमा कार्यालय खोल्दा अन्तर्राष्ट्रिय काम हुन सकेनन्। त्यसैले नेपाले पनि दुई दिन बिदाको व्यवस्था गर्दा शनिबार र आइतबार नै बिदा दिनु उपयुक्त हुन्छ,’ उनले भने।
हाल नेपालमा सार्वजनिक क्षेत्रमा आइतबारदेखि बिहीबारसम्म बिहान १० साँझ ५ बजेसम्म र शुक्रबार १० देखि ३ बजेसम्म गरी हप्तामा ४० घण्टाको कार्य अवधि तोकिएको छ।
हप्ताको ५ दिनमात्रै कार्यलयहरु खुल्दा सेवाग्राहीमा असर पर्छ कि पर्दैन भन्ने बारेमा भने केही अध्ययन गरिएको छैन। समितिले सर्वजनिक कार्यालय सोमबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म खुलाउँदा अहिलेजस्तै हप्ताको ४० घण्टा नै कार्यालय खुल्ने बताएको छ।
समितिले हप्तामा दुई दिन बिदा दिने व्यवस्था सरकारी मात्रै नभई निजी क्षेत्रले पनि लागू गर्दा प्रभावकारी हुने उल्लेख गरेको छ।
‘हामीले कर्मचारीको तर्फबाट हप्तामा २ दिन बिदा दिँदा राम्रो हुने देखेका छौं। यो प्रारम्भिक प्रतिवेदनमा सेवाग्राही तथा विज्ञहरुबाट आएका सुझावलाई समेटी परिमाजित रिपोर्ट सरकारलाई बुझाउँछौं,’ उनले भने। समितिको रिपोर्ट मन्त्रिपरिषद्मा गएर पास भएमात्रै लागू हुने छ।
प्रतिवेदन सहसचिव भट्टराईसहित पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मी, गृह मन्त्रालयका उपसचिव बासुदेव घिमिरे, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कविन्द्र नेपालसहित अर्थमन्त्रालयका प्रतिनिधिको टोलीले तयार पारेको हो।

प्रतिक्रिया