ad ad

राजनीति


सर्वदलीय बैठक : प्रधानमन्त्रीले सरकारका कामको व्याख्या गरे, विरोध प्रदर्शनबारे दलहरुको धारणा बुझे

सर्वदलीय बैठक : प्रधानमन्त्रीले सरकारका कामको व्याख्या गरे, विरोध प्रदर्शनबारे दलहरुको धारणा बुझे

नेपालखबर
मंसिर २३, २०७७ मंगलबार १३:१७,

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सर्वदलीय बैठकमा सरकारका कामको व्याख्या गरेका छन् भने सरकारविरोधी आन्दोलनका बारेमा दलहरुका धारणा बुझ्ने प्रयास गरेका छन्।

प्रधानमन्त्रीले मंगलबार सरकारी निवास बालुवाटारमा आयाेजना गरेकाे साे सर्वदलीय भेलामा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिहरुलाई बाेलाएका थिए।

उक्त बैठकले कुनै निर्णय भने नगरेको बैठकमा सहभागी कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले बताए।

बैठकमा प्रधानमन्त्री ओलीले कोरोना महामारीमा सरकारले गरेको कामको लामो ब्रिफिङ गर्नुका साथै पछिल्ला केही दिनदेखि राजतन्त्र र हिन्दू धर्म पक्षधरहरुकाे प्रदर्शनका विषयमा सबै दलहरुको धारणा बुझ्ने प्रयास गरेका थिए।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर २१ गतेको पार्टी स्थायी समिति बैठकमा देश संकटपूर्ण अवस्थामा रहेको भन्दै यस विषयमा छलफल गर्न सर्वदलीय बैठक आयोजना गर्नुपर्ने बताएका थिए।

प्रचण्डले सर्वदलीय बैठक बस्नुपर्ने बताएको दुई दिनपछि प्रधानमन्त्री ओलीले सो बैठकको आयोजना गरेका हुन्।

pm sarbadaliya meet dec8 1

राजतन्त्रका पक्षमा सडक आन्दोलनमा रहेको दल राप्रपालाई समेत सहभागी गराइएको बैठकमा कुनै खास निर्णयभन्दा पनि साझा धारणा बनाउने विषयमा छलफल केन्द्रित भएको सहभागीहरुले बताएका छन्।

बैठकमा सहभागी कांग्रेस सहमहामन्त्री महतले प्रधानमन्त्री ओलीले कोरोना महामारीको अवधिमा सरकारले गरेको कामहरुको तथ्यांक प्रस्तुत गर्नुका साथै पछिल्ला दिन सडकमा भइरहेका प्रदर्शन, र्‍याली लगायतका गतिविधिबारे दलहरुको धारणा बुझ्ने कोशिस गरेको बताए।

अहिलेसम्म कोरोना रोकथाम र उपचारमा सरकारबाट भएका गतिविधिबारे प्रधानमन्त्रीले लामो व्याख्या गरे पनि कांग्रेस लगायतका अन्य दलहरुले भने कोभिडको व्यवस्थापनमा सरकार चुकेको बताएका थिए। 

‘उहाँ (प्रधानमन्त्री)ले बैठकमा मूलभूत रुपमा कोभिड नियन्त्रणका लागि सरकारले अहिलेसम्म गरेका गतिविधि व्याख्या गर्नुभयो,’ महतले नेपालखबरसँग भने, ‘तर सहभागी धेरैले कोभिडको व्यवस्थापनमा सरकार चुकेको, जनताले उपचार नपाएको, उपचार सर्वसाधारणको पहुँचभन्दा बाहिर रहेको, अस्पतालमा चरम लापारबाही भएको विषयलाई रोक्न नसकेको भनेर सरकारको आलोचना गरेका थिए।’

बैठकमा समसामयिक राजनीतिक विषय भनेर प्रधानमन्त्री ओलीले पछिल्लो समय राजवादीका नाममा सडकमा भइरहेको प्रदर्शनबारे दलहरुको धारणा जान्न खाजेका थिए।

pm sarbadaliya meet dec8 1

‘अहिले हाम्रो प्रणाली र व्वस्थालाई चुनौति दिनेगरी सडकमा विभिन्न स्वरहरु उठिरहेका छन्,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै महतले भने, ‘यसलाई व्यवस्थापन गरेर जानुपर्ने चुनौति हामीसँग छ।’

प्रधानमन्त्रीको भनाइपछि कांग्रेस नेताहरुले भने सरकारका काम कारबाहीका कारण यसप्रकारका गतिविधि भएको भन्दै यसप्रति सरकार आँफै जिम्मेवार रहेको बताएको महतले जनाकारी दिए।

कांग्रेसले सडकमा भएको प्रदर्शनको जिम्मा पनि सरकारले नै लिनुपर्ने धारणा राखेका थिए।

‘यी सबै गतिविधिको जिम्मेवार सरकार आफैँ हो। सरकार नै दमनकारी, नियन्त्रणकारी छ,’ बैठकमा सरकारप्रति आक्रोशित हुँदै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भनेका थिए, ‘सरकारप्रतिको अविश्वास र असन्तुष्टि सडकमा देखिन थालेको हो, यसको जिम्मा नेकपाले लिनुपर्छ।’

नेता महतले भने सरकारप्रति जनताको अविश्वास बढेपछि यसखालका गतिविधि भएको बताए।

‘सरकारप्रतिको अविश्वास र असन्तुष्टि बढ्दै गएपछि अहिलेको गणतन्त्र र संविधान मन नपराउनेहरुले जनतालाई आफूतिर तान्ने कोसिस गरेका हुन,’ सर्वदलीय बैठकमा नेता महतले भने।

उनले सरकार ठीक ढंगले चल्ने हो भने धेरै कुरा आफै हल हुने सुझाब समेत दिए।

‘यो प्रणालीकै विकल्प खोज्नेभन्दा पनि तपाईँहरु ठीक हुनुपर्यो। यहीबाट आवश्यक सुधार र संशोधन गर्न संविधानले सुनिश्चित गरेको छ, त्यहीबाट समाधान गर्न प्रधानमन्त्री तयार हुनुपर्यो, र सरकार सुध्रिनुपर्यो’, उनले भने, ‘सरकार सुध्रियो भने सिस्टमको विपक्षका स्वरहरु मथ्थर हुन्छन्।’

Congress leaders sarbadaliya

प्रधानमन्त्री ओलीले बैठकमा आफ्नो पार्टीभित्रको विवादका विषयमा पनि धारणा राख्न खोजेका थिए। तर, कांग्रेस नेताहरुले त्यस विषयमा प्रवेश नै गर्न नचाहेपछि उनले त्यसबारे कुरा नगरेको महतले बताए।

‘उहाँले सडकमा देखिएका सरकारविरुद्धको स्वर र पार्टीभित्रको आन्तरिक विवादको विषयमा केही कुरा राख्न खोज्नुभएको थियो तर हामीले तपाईँहरु जनता केन्द्रितभन्दा पनि आफ्नै व्यवस्थापन र पार्टी केन्द्रित चासो र चिन्ता रह्यो, यो निर्वाचित सरकार त्यसरी चल्नु हुँदैन भनेपछि उहाँ यस विषयमा प्रवेश गर्नुभएन्,’ महतले भने।

कांग्रेसले संसद अधिवेशन तत्काल बोलाउन प्रधानमन्त्री ओलीको ध्यानाकर्षण पनि गराएको महतले बताए।

‘हामीले लामो समयदेखि बन्द रहेको संसद खुलाउन प्रधानमन्त्री केपी ओलीजीलाई सुझाब दिएका छौं,’ महतले नेपालखबरसँग भने।

बैठकमा राप्रपाका नेता दीपक बोहोराले लोकतन्त्रको नाममा सरकारले शान्तिपूर्ण जुलुश प्रदर्शन गर्न नदिन खोजेकोप्रति असन्तुष्टि जनाउँदै सडकमा उठेका स्वरमा आफ्नो पार्टीको समर्थन रहेको बताए।

उनले सरकारले कोभिड नियन्त्रण गर्न नसकेको, औषधि व्यवस्थापनमा अनियमितता गरेको र भ्रष्टाचार बढेको भन्दै सरकारमा रहेका मन्त्रीहरुको कार्यशैलीको विरोध गरे।

सर्वदलीय बैठकमा नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमलगायतका नेताहरु थिए।

त्यस्तै प्रतिपक्षी कांग्रेसतर्फबाट सभापति तथा पूर्वप्रधानमन्त्री देउवा, उप–सभापति विजय गच्छदार, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विमलेन्द्र निधि, सहमहामन्त्री प्रकाशशरण महतलगायत नेता सहभागी थिए ।

बैठकमा जनता समाजवादीकातर्फबाट अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, नेपाल मजदूर किसान पार्टीका प्रेम सुवाल र राप्रपाबाट दीपक बोहोरा सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .