ad ad

राजनीति


दक्षिण सुडानमा भड्किन लागेको जातीय दंगा यसरी रोके नेपाली शान्ति सेनाले

दक्षिण सुडानमा भड्किन लागेको जातीय दंगा यसरी रोके नेपाली शान्ति सेनाले

नेपालखबर
मंसिर १२, २०७७ शुक्रबार १०:११,

दक्षिण सुडानमा खटिएको नेपाली शान्ति सेनाले त्यहाँको दंगाग्रस्त ठाउँ क्युवेटमा दुइटा सशस्त्र समुहबीच हुनलागेको भिडन्तलाई तत्काल रोकेर जातीय दंगा हुनबाट राेकेका छन्।

क्युवेटमा दुई सशस्त्र समुहबीच भिडन्त गर्नलागेको सूचना पाएपछि त्यहाँ खटिएको नेपाली शान्ति सेना केहि मिनेटभित्र सो ठाउँमा पुगेर दंगा हुनबाट रोकेको दक्षिण सुडानका लागि संयुक्त राष्ट्रसंघीय मिसन (अनमिस) ले जनाएको छ।

सो खबर आउनासाथ नेपाली शान्ति सेनाले एउटा अत्याधुनिक तालिमप्राप्न समुहलाई त्यहाँ पठाएर सो ठाउँको स्थिति नियन्त्रणमा लिई स्थानीय नागरिकलाई सुरक्षा दिनका लागि खटाएको थियो।

क्युवेटबाट १२ किलोमिटर उत्तरतर्फको ठाउँमा एकजना युवाको हत्या गरिएपछि भड्केको हिंसाले साम्प्रदायिक रुप लिन थालेपछि त्यसलाई रोक्न तत्काल कदम चालिएको अनमिसले जनाएको छ।

‘ती युवा मारिएको भोलिपल्टै त्यहाँका ६० जना मानिसहरु हातहतियारसहित सो हत्याको बदला लिन भनी जम्मा भएका थिए। सोही शहरमा त्यो आक्रमणका विरुद्ध १०० जनाको अर्को समूह पनि हातहतियारसहित भिड्न तम्तायर भइसकेको थियो,’ अनमिसले भनेको छ, ‘सशस्त्र भिडन्त हुनै लागेको थियो।’

यो खबर पाएपछि नेपाली शान्ति सेनाले तुरुन्तै आफ्नो एउटा प्लाटुनलाई त्यहाँको स्थिति सम्हाल्न भनी पठाइहाल्यो। अनमिसका अनुसार उनीहरु एक घण्टाभित्रै त्यहाँ पुगेर दुई पक्षको बीचमा चेकपोइन्ट बनाइहाले र नेपाली शान्ति सेनाले त्यहाँको स्थानीय प्रहरीसँग समन्वय गर्‍यो।

‘तत्काल त्यो ठाउँ पुगेर त्यहाँको शान्ति सुरक्षाको अवस्था बुझ्ने, ती सशस्त्र समुहलाई अघि बढ्न नदिन सो ठाउँमा गस्ती गरेर उपस्थिति देखाउने र नागरिकको सुरक्षाका लागि आवश्यक परे हस्तक्षेप गर्नु नै तत्काल हामीले गर्नुपर्ने काम थियो,’ नेपाली क्विक रियाक्सन फोर्सका कमाण्डर क्याप्टेन विज्ञान बिष्टले भने।

अनमिस र स्थानीय सुरक्षा निकायसँगको सहकार्यबाट ती सशस्त्र समुहलाई फिर्ता पठाउन सफलता हात लागेको थियो। साउथ सुडान पिपल्स डिफेन्स फोर्सेसले सो कदमको प्रशंसा गरेको थियो।

हिउँद लागेपछि त्यहाँका समुदायहरुबीच नियमितजसो हिंसा भड्किरहने गर्छ।

यहि कुरालाई मध्यनजर गरी अनमिसले सम्भावित हिंसाग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ अस्थायी वेसहरु स्थापना गरेको छ। यी वेसहरुमा सैन्य तथा नागरिक समुहहरुको एकीकृत प्रयासबाट शान्ति कायम गर्ने पहलहरु गरिन्छ।

यस्ता हिंसाग्रस्त स्थानहरुमध्ये क्युवेट सबैभन्दा अनिश्चित र तनावग्रस्त ठाउँ हो। त्यसैले नेपाली शान्ति सेनाले रुम्बेकस्थित मुख्य कार्यालयबाट झिकाएर त्यहाँ अहिलेसैनिक संख्यासमेत थपेको छ। सो ठाउँको अवस्था सामान्य नभएसम्म उनीहरु त्यहिँ रहने जनाइएको छ।

त्यसो त, दक्षिण सुडानमा खटिएका नेपाली शान्ति सेनाले यस्तै उदाहरणीय काम गरेका कारण पुरस्कृत हुँदै आएका छन्।

गत सेप्टेम्बरको अन्तिम साता दक्षिण सुडानमा खटिएका ८ सय ५० जना नेपाली शान्तिसेनाले त्यहाँ शान्ति स्थापनार्थ उनीहरुले पुर्‍याएको योगदानका लागि राष्ट्र संघीय पदक प्राप्त गरेका थिए।

सन् २०११ देखि नेपाली शान्ति सेना दक्षिण सुडानमा खटिँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .