राजनीति


‘खुला सीमाका कारण नेपाल आउने विदेशीको नियमन चुनौतीपूर्ण’

‘खुला सीमाका कारण नेपाल आउने विदेशीको नियमन चुनौतीपूर्ण’

नेपालखबर
मंसिर ८, २०७७ सोमबार १०:४,

भारतसँगको खुला सीमानाका कारण अवैध रुपमा नेपाल आउने विदेशी र नेपालबाट तेस्रो मुलुक जानेहरुलाई नियमन गर्न चुनौतीपूर्ण बन्दै गएको छ।

दक्षिणतर्फ खुला सीमाना भएका कारण अनुचित रुपमा हुने आगमन र प्रस्थानलाई नियन्त्रण र नियमन गर्न चूनौतीपूर्ण रहेको अध्यागमन विभागको ठहर छ। नेपाल भारत सीमानामा विभिन्न ८ स्थानमा अध्यागमन कार्यालय भएपनि धेरै ठाउँबाट सहज आवागमन हुने भएकाले निगरानी राख्न चुनौतीपूर्ण बन्दै गएको हो।

विभागका महानिर्देशक रमेश कुमार केसी नेपाल प्रवेश गर्ने खुला ठाउँ धेरै हुनु र अध्यागमन कार्यालय सिमित मात्रामा हुनुले आवागमनमा निगरानी राख्न नसकिएको बताउँछन्। विधायन व्यवस्थापन समितिको बैठकमा अध्यागमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा उनले पर्यटक र अध्ययन भिसामा नेपाल आएर धर्म प्रचार गर्ने लगायतका अनुचित काम गर्दै आएको पाइएको बताए।

उनले भने, ‘विदेशहरुले नेपालमा के कस्ता गतिविधि गर्छन्। पर्यटक भिसा, अध्ययन भिसा लिएर अन्य गतिवधि गर्छन्। बेला बेला धर्मप्रचार देखि लिएर अन्य कुरा गरेको देखिन्छ। त्यसैले विदेशीहरुको दायित्वलाई एकीकृत गर्न चुनौतीपूर्ण देखिएको छ।’

भिसा शुल्क र अन्य शुल्क मार्फत प्रतिवर्ष २ अर्ब बढी राजस्व संकलन हुँदै आएको छ। महानिर्देशक केसीले गत वर्ष मात्रै २ अर्ब ३२ करोड राजस्व संकलन भएको बताए। यस्तै आर्थिक वर्ष २०७५/०७६ मा २ अर्ब ७४ करोड, ०७४/०७५ मा २ अर्ब ४५ करोड, ०७३/०७४ मा २ अर्ब २३ करोड राजस्व संकलन भएको बताए।

अध्यागमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अहिले विधायन व्यवस्थापन समितिमा छलफलका क्रममा रहेको छ। समितिको बैठकमा सांसद रामनारायण विडारीले खुला सीमानाको फाइदा उठाउँदै नेपालमा आएर बसेकाहरुले नेपालबाटै विदेश जान्छु भन्यो भने के गर्छ नेपालले? भन्ने विषय पनि ऐनमा समेट्नुपर्ने बताए।

सांसद विमला राई पौड्यालले कुनैपनि भिसा लिएर विदेश गएका र अलपत्र रहेका नागरिकहरुलाई स्वदेश फर्काउने हकमा अध्यागमन विभागले के काम गर्ने गरेको छ भन्दै प्रश्न गरिन्।

नेपालमा वर्षेनी लाखौँ पर्यटक आउने गरेका छन्। ती मध्ये सबैभन्दा बढी पर्यटक भारतबाट (२१ प्रतिशत) आउने गरेका छन्। यस्तै चीनबाट १४ प्रतिशत आउने गरेका छन्। यो वर्ष अक्टोबर सम्म विभिन्न देशबाट २ लाख २ हजार पर्यटक नेपाल आएका छन्।

सन् २०१९ मा ११ लाख ९७ हजार र २०१५ मा ६ हजार ३८ हजार पर्यटन नेपाल भित्रिएका छन्। २०१९ देखि आजसम्म विभिन्न कसुर गरेका ६ सय ७६ जना विदेशीहरुलाई देश निकाला गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad