राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार भएको छ। पेटको दीर्घरोगसँगै डायरिया, निमोनिया, कोरोना संक्रमणबाट ग्रस्त भई मेडिसिटी अस्पतालमा उपचाररत केसीको अवस्थामा राम्रो सुधार आएको अस्पतालले जनाएको छ।
अस्पतालले आइतबार दिएको जानकारी अनुसार केसीको डायरिया सञ्चो भएको छ भने ज्वरो हटेको छ। निमोनिया, प्रेसर, सुगर सबै कन्ट्रोलमा छ। अक्सिजनको मात्रा पनि लेभलमा आएको अस्पतालले जनाएको छ।
केसीलाई खाना रुची भएको र टिभी हेर्न थालेको अध्यक्ष केसीका भतिजा तुफान केसीले जानकारी दिए।
उनलाई आजसम्म चार डोज रेम्डेसिभिर नामक औषधि दिइएको छ। भोलि थप एक डोज दिएपछि मंगलबार उनको पुनः स्वाव लिई कोरोना परीक्षण गरिने भतिजा तुफानले बताए।
करिब एक महिना अघि भैरहवा गएका अध्यक्ष केसी १५ दिन अघिदेखि बिरामी भएका थिए। उनको अवस्था गम्भीर बनेपछि अघिल्लो मंगलबार काठमाडौं ल्याएर मेडिसिटीमा भर्ना गरिएको थियो। बुधबार कोरोना संक्रमण पुष्टि भएसँगै उनको आइसोलेसनमा राखेर उपचार भइरहेको छ।
Shares
प्रतिक्रिया