ad ad

राजनीति


चुनावमा भएको हार नस्वीकार्ने ट्रम्पविरुद्ध ओबामाले दिए यस्तो कडा अभिव्यक्ति

चुनावमा भएको हार नस्वीकार्ने ट्रम्पविरुद्ध ओबामाले दिए यस्तो कडा अभिव्यक्ति

नेपालखबर
कात्तिक २९, २०७७ शनिबार २:४४,

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा भएको हार नस्वीकारेर लोकतन्त्रमा क्षति पुर्‍याइरहेकाे आरोप लगाएका छन्।

अमेरिकी टेलिभिजन च्यानल सीबीएस न्युजलाई अन्तर्वार्ता दिँदै ओबामाले ट्रम्पले बिनाप्रमाण निर्वाचनमा धाँधली भएको आरोप लगाएर लोकतन्त्रलाई चुनौती दिएको बताएका हुन्।

ओबामाले भने, ‘जो बाइडेनले स्पष्ट रूपमा चुनाव जितिसकेका छन्।’

गत हप्ता अमेरिकाका सञ्चारमाध्यमले चुनावको नतिजाबारे जानकारी दिएका थिए।

तर ट्रम्पले मत गणनामा धाँधली भएको आरोप लगाउँदै पुनः मत गणनाका लागि कानुनी लडाइँ गर्ने चेतावनी दिइरहेका छन् भने कतिपय राज्यका अदालतमा मुद्दासमेत हालिसकेका छन्।

अन्तर्वार्तामा ओबामाले भनेका छन्, ‘ट्रम्पले यसकारण धाँधलीको आरोप लगाइरहेका छन् कि उनलाई हार्न मन छैन।’

उनले अगाडि भनेका छन्, ‘मलाई अचम्म त के लागिरहेको छ भने रिपब्लिकन (ट्रम्पको पार्टी) का अन्य नेता किन सबै कुरा थाहा पाएर पनि ट्रम्पलाई साथ दिइरहेका छन्! यसो गरेर उनीहरूले बाइडेनको जितलाई अस्वीकार मात्र गरिरहेका छैनन्, बरु लोकतन्त्रलाई नै क्षति पुर्‍याइरहेका छन्, यो डरलाग्दो कुरा हो।’

पूर्वराष्ट्रपति ओबामाले प्रकाशन हुन लागेको आफ्नो नयाँ संस्मरण ‘अ प्रमिस ल्यान्ड’ को सन्दर्भमा सीबीएस टेलिभिजनलाई अन्तर्वार्ता दिएका हुन्। त्यो आइतबार प्रसारण हुने बीबीसीले जनाएको छ।

उक्त किताबमा उनले सांसददेखि राष्ट्रपतिसम्मको आफ्नो यात्रा समेटेका छन्। यो किताब यही नोभेम्बर १७ मा बजारमा उपलब्ध हुनेछ।

सीएनएनका अनुसार आफ्नो संस्मरणमा ओबामाले लेखेका छन्, ‘ट्रम्प त्यस्ता व्यक्ति हुन्, जसले काला जातिका व्यक्तिले अमेरिकाको नेतृत्व गर्दा गोरा जातिलाई खतरा हुन्छ भन्ने डर देखाएर सत्तामा आएका हुन्।’

उनले अगाडि लेखेका छन्, ‘करोडौं अमेरिकीलाई यो कुराको डर थियो कि ह्वाइट हाउसमा एक जना काला व्यक्ति बसेको छ, यस्तो नश्लीय सोच राख्ने मानिसको चिन्ता हटाउने वाचा ट्रम्पले गरेका थिए।’

ओबामा नवनिर्वाचित राष्ट्रपति जाे बाइडेनकाे पार्टी डेमाेक्रेटका नेता पनि हुन्।  

याे पनिचुनाव हारेपछि ट्रम्पले पहिलोपटक सार्वजनिक भाषण गरे, के-के भने?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .