राजनीति


नेकपा सचिवालय : बहुमत सदस्यद्वारा बिहीबार बैठक प्रस्ताव, सहमतिका लागि अध्यक्ष ओलीसँग आग्रह गर्ने

नेकपा सचिवालय : बहुमत सदस्यद्वारा बिहीबार बैठक प्रस्ताव, सहमतिका लागि अध्यक्ष ओलीसँग आग्रह गर्ने

मणि दाहाल
कात्तिक २५, २०७७ मंगलबार ११:५६,

नेकपाका बहुमत सचिवालय सदस्यहरुको बैठकले बिहीबार बैठक राख्न प्रस्ताव गरेको छ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको बैठकले सो निर्णय गरेको हो।

सो बैठकमा सहभागी हुन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

पार्टी कार्यालय धुम्बाराहीमा भएको सो बैठकमा कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, पार्टी उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए।

धुम्बाराहीको सो बैठकमा जानुअघि पनि प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए।

प्रचण्डसहित सचिवालयमा रहेका पाँच जना नेताहरुले पार्टी कार्यालयमा गरेको सो अनौपचारिक बैठकमा बिहीबार राख्ने बैठकमा सहभागिताका लागि प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष ओलीलाई पुनः आग्रह गर्ने निर्णय गरेको हो।

उनका अनुसार भोली बुधबार प्रधानमन्त्री ओलीको काठमाडौंबाहिर कार्यक्रम रहेका कारण पर्सी बिहीबारका लागि बैठक प्रस्ताव गरिएको हो।

‘उहाँले बैठक राख्न अझै पनि सहमति जनाउनुभएको छैन, हामी अपेक्षा गर्छौं उहाँको भोलीको कार्यक्रमपछि राखिएको बैठकमा आउनुहुनेछ,’ श्रेष्ठले भने।

ओलीले हिजोसम्म र आज मंगलबार प्रचण्ड भेट्न जाँदा समेत बैठकका लागि सहमति नजनाएको श्रेष्ठले बताए।

प्रचण्डसँगको कुराकानीमा ओलीले २७ गते पनि बैठक बस्न सहमत भएका छैनन्।

‘आशा छ बैठक राख्न उहाँ तयार हुनुहुनेछ र सहमतिका साथ नै बैठक हुनेछ,’ श्रेष्ठले भने।

उनले आफूहरुबाट पटक पटक गरिएको अनुराेधलाई कमजोरी नठान्न समेत आग्रह गरेका छन्।

भदौ २६ को स्थायी कमिटीले गरेको निर्णय कार्यान्वयन नभएपछि दुई अध्यक्ष ओली र प्रचण्डबीच शक्तिसंघर्ष जारी छ।

नौ सदस्य रहेको सचिवालयमा कार्यकारी अध्यक्ष प्रचण्डलाई वरिष्ठ नेता खनाल र नेपाल, उपाध्यक्ष गौतम र प्रवक्ता श्रेष्ठले साथ दिँदै आएका छन्।

अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री तथा महासचिव बिष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापाको सहयोग रहँदै आएको छ।

पूर्वमाओवादी खेमाका थापा प्रचण्डसँग समेत परामर्श रहेपनि उनी दुवैतर्फ राम्रोसँग खुलेका छैनन्।

यो पनिः
प्रचण्डले बोलाएको आजको बैठकमा पनि गएनन् गृहमन्त्री थापा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .