नेकपाको पार्टी सचिवालय बैठक राख्ने तयारीमा रहेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा स्थायी समिति सदस्य शंकर पोखरेलले भेट गरेका छन।
पोखरेलले मंगलबार बिहान अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवास पुगेर भेटेका हुन्।
सचिवालय बैठकको लागि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीसँग सहमति लिने प्रयास सफल नभएपछि प्रचण्डले सचिवालयको बैठक मंगलबार राख्ने तयारी गरिरहेका बेला पोखरेल उनलाई भेट्न पुगेका हुन्।
भदौ २६ को स्थायी समितिको निर्णय कार्यान्वयन गरेर पार्टीभित्र देखिएको विवाद समाधान गर्नुपर्ने बताउँदै आएका पोखरेलले अध्यक्ष प्रचण्डलाई भेट गरेका हुन्।
पार्टीभित्र दुई अध्यक्षबीच शक्ति संघर्ष चर्किँदा पोखरेलले दुवैलाई मिलाउने भूमिका निभाउदै आएका छन्।
यो पनि : मुख्यमन्त्री पोखरेल भन्छन्- सहमतिको सूत्र नै स्थायी समितिका निर्णयको कार्यान्वयन
आज प्रचण्ड बैठक राख्ने तयारीमा रहेपछि त्यसलाई रोक्ने प्रयासस्वरुप प्रधानमन्त्री ओलीको सन्देशसहित उनी खुमलटार गएको हुनसक्ने बुझिएको छ।
बैठक राख्ने सहमति लिनको लागि प्रचण्डसहित पार्टी सचिवालयका बहुमत सदस्यले अध्यक्ष ओलीलाई दिएको दुईदिने म्याद सोमबार बेलुका सकिएको छ।
प्रधानमन्त्री ओलीको सन्देश लिएर सोमबार महासचिव विष्णु पौडेल पनि खुमलटार पुगेका थिए। उनले पनि बैठकको लागि ठोस प्रस्ताव नै नल्याएपछि प्रचण्डले कार्यकारी अधिकार प्रयोग गरेर बैठक राख्न लागेको प्रचण्डनिकट नेताहरुले बताएका छन्।

प्रतिक्रिया