अमेरिकामा जारी राष्ट्रपति चुनावको मत गणनामा आफ्ना प्रतिस्पर्धा जो बाइडेन अगाडि बढ्दै गएपछि डोनाल्ड ट्रम्पले कतिपय स्थानमा धाँधली भएको आरोप लगाइरहेका छन्। र, मत दोहोर्याएर गन्नुपर्ने माग गर्दै मुद्दासमेत हालेका छन्।
ती विवाद कहाँ-कहाँ हुन्? के-के भइरहेका छन्? प्रस्तुत छ, अहिलेसम्म प्राप्त जानकारी :
मिसिगन
नोभेम्बर ४ तारिखका दिन ट्रम्प अभियानका अधिकारीले मत गणना रोक्न माग गर्दै अदालत जाने चेतावनी दिए।
स्थानीय निर्वाचन अधिकारीले दिएकाे अनौपचारिक जानकारीअनुसार जतिबेलासम्म यहाँ ९६ प्रतिशत मत गन्ती भइसकेको थियाे।
ट्रम्पको टोली ‘आफू अनुपस्थित’ हरेक गणना स्थलमा आफ्ना एक प्रतिनिधि राख्न चाहन्छ र मत पुनः गणना गर्न चाहन्छ।
तर याे माग गर्दै ट्रम्प अभियान टोलीले पेस गरेको आवेदन मिसिगन राज्यको अदालतले खारेज गरिदिएको छ। फर्स्ट डिस्ट्रिक्ट अपिल्स कोर्टका न्यायाधीश सिन्थिया स्टिफन्सले मत गणना रोक्न ट्रम्पले हालेको निवेदन खारेज गरिदिएका हुन्।
न्यायाधीशले भनेका छन्- निवेदन दिन धेरै ढिला भयाे, मत गणना लगभग पूरा भइसकेको छ र जसविरुद्ध निवेदन दिइएको छ, ऊ निर्वाचनको जिम्मेवार मानिस होइन। उनका अनुसार मत गणना स्थानीय तहमा गरिन्छ र जसमा निवेदनमा उल्लिखित अधिकारीको कुनै नियन्त्रण हुँदैन।
पेन्सिलभेनिया
यस राज्यमा हुलाकमार्फत पठाइएका मतपत्रका विषयमा विवाद छ। राज्यका निर्वाचन अधिकारीले गरेकाे निर्णयअनुसार चुनावको मितिभन्दा ३ दिन पछिसम्म प्राप्त मत गन्ती गरिनेछ। तर ट्रम्पको टोलीले यसविरुद्ध अदालत जाने चेतावनी दिएका हुन्।
ट्रम्प अभियानका अधिकारीले निर्वाचन अधिकारीले हुलाकी मत समयभन्दा पहिले नै गैरकानुनी ढंगले गन्ती गरेको तथा रद्द भएका मतमा मतदातालाई दोहोर्याएर भोट हाल्न लगाएको आरोप लगाएका छन्। यही निहुँमा ट्रम्प पक्षले निर्वाचन अधिकारीविरुद्ध कानुनी कदम चालेका हुन्।
विस्कन्सिन
राष्ट्रपति ट्रम्प अभियानका अधिकारीले मंगलबार गरिएकाे मत गणनामा अनियमितता देखिएको दाबी गरेका छन्। यसैकारण भाेट फेरि गन्नुपर्ने उनीहरूको माग छ।
तर याे मामिला अहिलेसम्म अदालतसम्म पुगिसकेको छैन। राज्यको कानुनअनुसार दुई उम्मेदवारबीचको फरक एक प्रतिशतभन्दा कम छ भने कुनै उम्मेदवारले पुनः मत गणनाको माग गर्न सक्छन्।
मत दोहोर्याएर गन्ने काम कहिलेसम्म हुन सक्छ, यसबारे अझै स्पष्ट जानकारी छैन। तर सामान्यतया सम्बन्धित निर्वाचन अधिकारीले मतको समीक्षा गरिसकेपछि यो सम्भव हुन सक्छ। यसका लागि राज्यसँग नोभेम्बर १७ तारिखसम्म समय रहेकाे बीबीसीकाे समाचारमा उल्लेख छ।
जनकारका अनुसार तर यसबाट नतिजामा खासै असर पर्दैन, किनकि दोहोर्याएर गन्दा पनि केही सय भोट मात्र तलमाथि पर्न सक्छ।
याे पनि : धैर्य गर्नुस्, सबै मत गनिसक्न दिनुस्, राष्ट्रपति-उपराष्ट्रपतिमा हाम्रै जित निश्चित छ : बाइडेन
Shares

प्रतिक्रिया